फाइल तस्वीर ।

हेटौँडा : शनिबार बिहान चितवन जिल्लामा बस र माइक्रोबस दुर्घटनामा परी मृत्यु भएका थप २ जनाको सनाखत भएको छ । यसअघि दुर्घटनामा परी मृत्यु भएका ७ जनामध्ये २ जनाको मात्रै सनाखत भएको थियो । सनाखत भएका मध्ये माइक्रोबस चालक हेटौँडा–१० का ३१ वर्षीय राजु थिङ र रौतहट जिल्लाको चन्द्रनिगाहपुर–६ की ३५ वर्षीया सीता चौधरी भएको प्रहरीले जनाएको छ ।

यसअघि हेटौँडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौँडा–५ की मैयाकुमारी न्यौपानेको सनाखत भएको थियो । चितवन प्रहरीले रुपाखेतीको ठेगाना साविक हटिया गाविस–३ उल्लेख गरे पनि उनी हाल हेटौँडा–४ मा बस्दै आएका थिए । मृतक मध्ये एक महिला गर्भवती भएको प्रहरीले उल्लेख गरेको छ । अन्दाजी १९ र २५ वर्षीया २ महिला, अन्दाजी २३ वर्षीय १ जना पुरुषको भने सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परी घाइते भएकाहरु भरतपुरस्थित पुरानो मेडिकल कलेज, एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइते मध्ये हेटौँडा–४ का ३१ वर्षीय विष्णु लम्साल, हेटौँडा–१२ का ३२ वर्षीय सिंहवीर घलान र हेटौँडा–१३ का १६ वर्षीय सक्षम थापा मध्यम घाइते रहेको प्रहरीले उल्लेख गरेको छ । हेटौँडा–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान १० बजेर १५ मिनेटको समयमा धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नब्बरको बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रो बस चितवन जिल्लाको राप्ती नगरपालिका–४, खहरेपुलमा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।