नेपालमा जलविद्युत् उत्पादन सुरु भएको एक सय १३ वर्ष भइसकेको छ । जलस्रोतको दोस्रो धनी देश भनेर चिनिएको नेपालमा ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्नसक्ने सम्भावना रहेको तथ्यांक छ । जलविद्युत् उत्पादन सुरु भएको एक शताब्दीभन्दा बढी भइसक्दा पनि देशभर सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको जडित क्षमता करिब ३ हजार मेगावाट मात्र छ । देशमा हालसम्म एउटामात्र जलाशययुक्त जलविद्युत् आयोजना निर्माण भएको छ, जुन मकवानपुर जिल्लाको कुलेखानी जलविद्युत आयोजना हो । ईन्द्रसरोवर गाउँपालिकास्थित जलाशयमा वर्षाको पानी जम्मा गरेर विद्युत् बढी माग हुने हिउँदको समयमा माग र आपूर्ति सन्तुलनका लागि यो आयोजना निकै सहयोगी बनिरहेको छ । कुलेखानी जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणको ब्याकअपको रुपमा पनि प्रयोग गरिँदै आएको छ । नेपालमा कुलेखानीबाहेक अन्य कुनै पनि जलाशययुक्त जलविद्युत् आयोजना निर्माण भएका छैनन् । केही आयोजना अर्धजलाशययुक्त छन्भ ने अधिकांश आयोजनाहरु रन अफ दि रिभर प्रणालीमा आधारित छन् ।
हिउँद याममा खोला तथा नदीमा पानीको सतह घट्ने हुँदा रन अफ दि रिभर प्रणालीका आयोजनाबाट हिँउदको समयमा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदैनन् । विशेषगरी फागुन–चैतबाट जलविद्युत् आयोजनाहरुको उत्पादन क्षमता न्यून हुँदै जान्छ । गर्मी मौसममा वर्षा र जाडोभन्दा जलविद्युत्को माग वृद्धि हुन्छ । यही समयमा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन कम हुने हुँदा माग आपूर्तिबिच सन्तुलन मिलाउन कठिन हुने गरेको छ । फलस्वरुप जुनसुकै समयमा देशका सबैजसो क्षेत्रमा विद्युत् आपूर्तिमा गडबडी भइरहेको पाइन्छ । माग र आपूर्तिबिच सन्तुलन मिलाउन नसक्दा कतिपय अवस्थामा अघोषित लोडसेडिङ समेत हुने गरेको छ । आपूर्तिभन्दा माग बढी भएर हुने असन्तुलनलाई मिलाउन कुलेखानीजस्ता जलाशययुक्त आयोजना आवश्यक भए पनि सरकार र निजी क्षेत्रले जलाशययुक्त आयोजना निर्माणमा ध्यान दिन सकेको पाइँदैन । वर्षौंदेखि निर्माण गर्ने भनिएको र मुआब्जाबापत ४० अरबभन्दा बढी रकम खर्च गरिसकिएको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम सुरु नै हुन सकेको छैन ।
कुलेखानी जलविद्युत् आयोजनाका लागि बनाइएको ईन्द्रसरोवरमा जम्मा भएको पानीलाई सुरुङबाट ल्याएर भीमफेदी गाउँपालिकाको धोर्सिङ, भैंसे र सानुटारमा अवस्थित विद्युत्गृहबाट विद्युत् उत्पादन भइरहेको छ । धोर्सिङमा रहेको कुलेखानी पहिलोबाट ६० मेगावाट, भैंसेको कुलेखानी दोस्रोबाट ३२ मेगावाट र सानुटारको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट १४ मेगावाट विद्युत उत्पादन हुने गरेको छ । करिब ७ किलोमिटर लम्बाई रहेको ईन्द्रसरोवरमा समुद्री सतहबाट एक हजार ५ सय ३० मिटर उचाईसम्म पानी जमाउन सकिन्छ । तालमा जम्मा भएको पानीको सतह एक हजार ४ सय ८३ मिटर भएपछि विद्युत् उत्पादन गर्न सकिने भए पनि अहिले उक्त तालको पानीको सतह एक हजार ४ सय ८६ मिटरमा झरिसकेको छ । पछिल्लो समय विद्युत् माग बढेका कारण चौबीसै घण्टा कुलेखानी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । पानीको सतह घट्दै जाँदा तालको क्षेत्रफल कम हुँदै जाने भएकाले पानीको सतह छिटो घट्छ । कुलेखानीबाट अब केही दिनमात्र विद्युत् उत्पादन हुने अवस्था रहेको छ ।
यस वर्षको मनसुन सुरु नभएका कारण तत्काल कुलेखानीको जलाशयमा पानीको सतह बढ्ने अवस्था देखिँदैन । नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा समस्या आउनासाथ ब्याकअपको रुपमा कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्नुपर्ने हुन्छ । ईन्द्रसरोवरको पानीलाई विद्युत् उत्पादन गर्न सकिने तहसम्म राख्नुपर्छ । वर्षा सुरु नहुँदासम्म कुलेखानी जलविद्युत् आयोजना अत्यावश्यक समयमा मात्र सञ्चालन गर्नु उचित हुनेछ । कुलेखानीको पानीको महत्वलाई अहिलेको अवस्थाले उजागर गरेको छ । विद्युत् माग आपूर्तिबिच सन्तुलन मिलाउन कुलेखानीजस्तै जलाशययुक्त आयोजना अन्यत्र पनि निर्माण गर्न नसक्दा यस्तो समस्या वर्षेनिजस्तै देखिने गरेको छ । सरकार र नेपाल विद्युत् प्राधिकरणले भविष्यमा जलाशययुक्त आयोजना निर्माणमा जोड दिनुपर्छ । निजी क्षेत्रलाई पनि जलाशययुक्त आयोजना निर्माणमा प्रोत्साहन हुने नीति ल्याउनु आवश्यक छ ।











