हेटौंडाः पछिल्लो समय स्वास्थ्य बीमाको लोकप्रियता बढ्दै गएको छ । परिवारका ५ जना सदस्यहरुले ३ हजार ५ सय रुपैया तिरेर १ लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउने भएपछि यसतर्फ मध्यम तथा निम्न आर्थिक अवस्था भएकाहरु आकर्षित हुदै गएका छन् । परिवारका सम्पूर्ण सदस्यहरुको स्वास्थ्य बीमा गर्न सकिने स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता अधिकारी नर बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मकवानपुर जिल्लामा कुुल १ लाख १५ हजार २३ जनाले स्वास्थ्य बीमा गरेका छन् । गत आर्थिक वर्ष २०७६\७७ मा मात्रै १९ हजार परिवारले बीमा गराएका छन् भने अघिल्लो आर्थिक वर्ष बीमा गरेकामध्ये २२ हजार परिवारले बीमा नवीकरण गरेका छन् ।

हाल मकवानपुर जिल्लामा १२८ जना स्वयम्सेवकहरुले प्रत्येक वडाबाट स्वास्थ्य बीमा गराउने गरेका छन् । स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी नरबहादुर खड्का अनुसार नेपाल सरकारले एचआइभि, क्षयरोग, ज्येष्ठ नागरिक, कृष्ठरोगीहरुलाई आउँदो मंसिरबाट निशुल्क नवीकरण गरिदिने भएको छ । स्वास्थ्य बीमा बोर्ड मकवानपुर शाखाका अनुसार हाल हेटौंडा अस्पताल, चुरेहिल अस्पताल, सामुदायिक आँखा अस्पताल र मनहरी, भीमफेदी, छतिवन र पालुङ स्वास्थ्य चौकीबाट बीमाको सेवा उपलब्ध गराईदै आएको छ । त्यस्तै विभिन्न अल्पसंख्यक, गरिब, जनजाति तथा चेपाङ समुदायको स्वास्थ्य बीमा मकवानपुरका सबै स्थानीय तहहरुले पनि गरिदिएको दर्ता अधिकारी खड्काको भनाइ छ । स्वास्थ्य बीमा सबै नागरिकमा पुर्‍याउने सरकारको लक्ष्य अनुरुप नै कार्य भैरहेको उहाँको भनाइ छ ।

हेटौंडा अस्पतालका ४४ प्रतिशत सेवाग्राही स्वास्थ्य बीमाका

हेटौंडा अस्पतालको गत आव २०७६\७७ को कुल सेवाग्राही मध्ये ४४ प्रतिशत सेवाग्राही स्वास्थ्य बीमाका रहेका छन् । हेटौंडा अस्पतालले दिएको तथ्यांक अनुसार १ लाख २० हजार सेवाग्राही मध्ये ५३ हजार सेवाग्राही बीमाका रहेको पाइएको छ । उनीहरुमध्ये ५० हजार ३ सय ६३ जना नया बीमाका सेवाग्राहीहरुले हेटौंडा अस्पतालको ओपिडि सेवा लिएका छन् भने पुराना २ हजार ७ सय ५७ जना सेवाग्राहीले गत आवमा सेवा लिएका छन् ।

हेटौंडा अस्पतलामा गत आर्थिक वर्षको साउन महिनामा स्वास्थ्य बीमका ४ हजार ५ सय ६१ जना, भाद्रमा ६ हजार ७ सय ९६ जना, असोजमा ५ हजार ५ सय ५७ जना, कात्तिकमा ४ सय ५ सय ६१ जना, मंसिरमा ४ हजार ८ सय ७६ जना, पुसमा ४ हजार ७ सय ६२ जना, माघमा ४ हजार ६ सय ६६ जना, फागुनमा ५ हजार ९ सय २६ जना, चैत्रमा २ हजार ९ सय ९० जना, २०७७ सालको बैशाखमा २ हजार ७ सय ४८ जना, जेठमा २ हजार १ सय ६७ जना र असारमा ३ हजार ६ सय ३८ जनाले सेवा लिएका छन् ।

हेटौंडा अस्पतलामा स्वास्थ्य बीमाका ४ हजार भन्दा बढीले मासिक सेवा लिँदै आएका छन् । गत चैत्र महिनादेखि भने मुलुक लकडाउनका भएका कारण अस्पतालमा स्वास्थ्य बीमाका सेवाग्राहीहरुको उपस्थिति कम भएको छ । अस्पतालमा लकडाउनको समयमा मासिक २ हजारदेखि ३ हजार जनाले सेवा लिएका छन् ।हेटौंडा अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम हेर्ने जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेका अनुसार बीमाको सेवाग्राही अस्पतालमा उल्लेख्य रहेको छ । बीमाले उपलब्ध गराएको उपचार सेवा र १ हजार १ सय ३३ थरीका औषधीहरु बीमाबाट प्राप्त हुने भएपछि यसतर्फ नागरिकहरुको आकर्षण बढेको छ । उहाँका अनुसार औषधीहरु बीमाबाट नपाएको भन्ने गुनासो अस्पतालमा आएपनि त्यसलाई व्यवस्थापन गरिदै गएको बताउनुभयो । विशेषगरी स्वास्थ्य बीमाको भन्दा पनि नेपाल सरकारले निशुल्क उपलब्ध गराउँदै आएको ७० थरीको औषधी नपाउँदा सेवाग्राहीहरु असन्तुष्ट भएका हुन् । चालु वर्षदेखि त्यसको पनि सामाधान हुने उहाँले बताउनुभयो ।

हेटौंडा अस्पतालमा गत वर्षमा सेवा लिएका स्वास्थ्य बीमाका सेवाग्राहीहरु मध्ये १ हजार ७ सय ३१ जनाले दन्त सेवा, २ हजार ८ सय ७ जनाले छालासम्बन्धी सेवा, १० हजार ३ सय ३ जनाले आकस्मिक सेवा, ८ सय ३४ जनाले नाक, कान, घाँटी सेवा, १८ हजार २ सय ९७ जनाले औषधीको सेवा, ५ हजार २३ जनाले स्त्री तथा प्रसुती सेवा, ६ हजार ४ सय ५७ जनाले हाडजोर्नीसम्बन्धी सेवा, ५ हजार ९३ जनाले बालस्वास्थ्य सेवा, ५ जनाले सामाजिक सेवा इकाईको सेवा र २ हजार ५ सय ७० जनाले शल्यक्रिया सेवा लिएका हुन् ।

त्यस्तै उनीहरुले सेवा लिए बापत्त स्वास्थ्य बीमा बोर्डले हेटौंडा अस्पताललाई गत आर्थिक वर्षमा मात्रै ५ करोड ४६ लाख उपलब्ध गराएको छ । अघिल्लो आर्थिक वर्ष २०७५\७६ मा स्वास्थ्य बीमाबाट २ करोड ४३ लाख ५२ हजार आम्दानी गरेको अस्पतालले गत आवमा झन्डै २ गुणा बढी आम्दानी गरेको छ ।