हेटौँडा : मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिकामा सोमबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका थप एकजनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ पुगेको छ । १ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ३६ वर्षीय रघुनन्दन यादवको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यादव थाहा नगरपालिकास्थित झम्केश्वरी माविकै शिक्षक थिए । बसको ठक्करबाट घाइते भएका ३६ वर्षीय कमलेश कुमार साहको अवस्था गम्भीर रहेको र उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको थियो । ट्रमा सेन्टरबाट पनि साहलाई बी एण्ड बी अस्पताल लगिएको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

सोमबार साँझ ७ बजेको समयमा गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट २ जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको थियो । बसको ठक्करबाट थाहा नगरपालिका–९ का ४० वर्षीय कृष्ण बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपलिका–५ घर भई हाल थाहा नगरपालिकास्थित झम्केश्वरी माविका शिक्षक ४० वर्षीय लोकेन्द्रकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेवाङ लामा र बारा जिल्लाको कोहल्बी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । प्रहरीले बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ब्रेक फेल भएपछि ओरालो बाटोमा बस अनियन्त्रित हुँदा पैदलयात्रीलाई ठक्कर दिएको बताइएको छ । बसमा यात्रु भने थिएनन् ।