सर्वदलीय बैठकमा सहभागी मुख्यमन्त्रीसहित नेताहरु ।

हेटौँडा : बागमती प्रदेशसभा संचालनका लागि आइतबार बसेको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन । आइतबार दिउँसो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दल बीच सहमति जुट्न नसकेको हो ।

आज सोमबारबाट सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशन संचालनका लागि सत्तापक्ष र प्रतिपक्षी दल बीच सहमति जुटाउन बसेको बैठक निश्कर्षविहीन बनेको हो । मुख्यमन्त्री बहादुर सिंह लामाले आह्वान गर्नुभएको बैठक निश्कर्षविहीन बनेको माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्न प्रसाद ढकालले जानकारी दिनुभयो । सर्वदलीय बैठकमा प्रतिपक्षीको तर्फबाट पछिल्लो राजनीतिक घटनाक्रम र विगतको सहमति कार्यान्वयनका विषयमा सरकारको जवाफ माग गरिएको ढकालले जानकारी दिनुभयो । हिउँदे अधिवेशन आह्वान भएर पनि सरकार चलाउन नदिनुको कारण माग गर्दा सरकारले उचित जवाफ नदिएको उहाँको भनाई छ ।

विगतको सहमति कार्यान्वयनको अवस्थाको विषयमा पनि सरकार जिम्मेवार नबनेकाले सर्वदलीय बैठक निश्कर्षविहीन बनेको ढकालले बताउनुभयो । विपक्षी दलका माग र सहमतिलाई सरकारले सम्बोधन गर्न नसकेको उहाँको भनाई छ । आइतबार बसेको सर्वदलीय बैठक बिना निश्कर्ष टुंगिएपछि सोमबार आव्हान भएको प्रदेशसभा बैठक चल्न सक्ने अवस्था नरहेको उहाँले जीकिर गर्नुभयो ।

‘कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसदको कार्यसूचि समेत जारी भएको अवस्थामा सरकारले मन्त्रिपरिषद्बाट अधिवेशन नै अन्त्य गरेको छ । सरकारले आफू अनुकल संसद चलाउने काम गरेको छ । प्रतिपक्षीका माग र प्रश्न बारे सरकार जिम्मेवार बन्न सकेन । हामीले यिनै विषयमा जवाफ मागेका छौं । तर, सरकारले त्यसमा उचित तवरले सम्बोधन गरेको देखिएन ।’ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ढकालले भन्नुभयो ।

राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाका अनुसार सर्वदलीय बैठकमा ठोस निर्णय हुन नसकेको जानकारी दिनुभयो । विगतका विषय र पछिल्लो पटक प्रदेश सभा बैठकका घटनामा सरकारको जवाफ प्रष्ट आउन नसकेको उहाँले बताउनुभयो । सरकार एलौटी ढंगबाट अगाडि बढिरहेको उहाँले आरोप लगाउनुभयो ।

बैठकमा मुख्यमन्त्री लामा, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, सचेतक मधुसुदन पौडेल, माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, सचेतक रत्न ढकाल, राप्रपाका संसदीय नेता उद्धव थापा र नेकपा एकीकृत समाजवादीका सांसद लक्ष्मण लम्साल सहभागी थिए ।