हेटौँडा : बागमती प्रदेश युवा सम्मेलन २०८२ सुरु भएको छ । आइतबार बिहान हेटौँडास्थित बुद्धचोकबाट प्रभातफेरीसहित कार्यक्रमस्थल पुगेको थियो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहित प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागितामा प्रभातफेरी भएको हो ।
बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाका प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन समारोह भएको छ । उद्घाटन समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पनि आतिथ्य रहेको थियो ।
सातै प्रदेशका युवाको सहभागिता रहेको सम्मेलनको उद्घाटन समारोहमा स्थानीय तथा परम्परागत झाँकी, साँस्कृतिक समूहहरूको प्रस्तुती रहेको थियो । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा उद्यमशीलता, साइबर सुरक्षाका चुनौती, दिगो विकास तथा जलवायु परिवर्तनमा युवाको भूमिका, रोजगार सिर्जना, कृषि, शिक्षा, सीप तथा नवप्रवर्तन, सम्पदा भ्रमण लगायतका विविध क्रियाकलाप हुनेछ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यकारी उपाध्यक्ष चौलागाईंले युवाले अझै पनि सरकारलाई भेट्न नसकेको र सरकारले पनि युवालाई भेट्न नसकेको बताउनुभयो । प्रदेश युवा परिषद्ले त्यही खाडल बीचमा पुलको काम गरिरहेको बताउनुभयो । उहाँले सरकारसँग युवालाई बजेट निर्माण, कानून निर्माण र अन्य सरकारी कार्यहरूमा समावेश गराउन आव्हान गर्नुभयो । चौलागाईंले बागमती प्रदेश सरकारले युवा सशक्तीकरणमा कानून निर्माण गरेर उदाहरणीय कार्य गरेको उल्लेख गर्नुहुँदै आगामी दिनमा पनि प्रदेश युवा परिषद्को कामलाई सरकारले मान्यता दिँदै अघि बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले युवालाई कृषि, शिक्षा र नवप्रवर्तनमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभयो ।
बागमती प्रदेशका विभिन्न जिल्लाबाट र अन्य प्रदेशबाट आउनुभयेको युवाहरूको सहभागिता र ऊर्जा झल्किने यस सम्मेलनले युवा नेतृत्व, नीति निर्माण र विकासको क्षेत्रमा सशक्त सन्देश दिने विश्वास लिइएको छ । आज पहिलो दिनको कार्यक्रममा उद्घाटन समरोहसँगै २ वटा प्यानल छलफल रहेको छ ।










