हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले पहिलो पटक निजी विद्यालयको शिक्षण शूल्क निर्धारण गरेको छ । बुधबार बिहान बसेको कार्यपालिका बैठकले शूल्क निर्धारण गर्ने निर्णय गरेको हो । यद्यपि हेटौँडा उपमहानगरपालिकाले शूल्क निर्धारण गरिएको विषयमा आधिकारिक जानकारी गराएको छैन । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय पनि सार्वजनिक भएको छैन ।

कार्यपालिका बैठकसम्बन्धमा बुझ्न प्रवक्ता सविन न्यौपानेलाई मोवाइल सम्पर्क गर्न खोज्दा उहाँको मोवाइल फोन उठेन । कार्यपालिका बैठकमा सहभागी एक सदस्यका अनुसार हेटौँडा उपमहानगरपालिकाले पहिलो पटक निजी विद्यालयको शिक्षक शूल्क निर्धारण गरेको हो । यसअघि हेटौँडा उपमहानगरपालिकाले विद्यालयको वर्गीकरण गरेको आधारमा ‘ग’ वर्गको विद्यालयको शूल्क निर्धारण गरी सोही आधारमा ‘ख’ वर्गका विद्यालयले २५ प्रतिशतसम्म बढी शूल्क लिन पाउने, ‘क’ वर्गका विद्यालयले ‘ख’ वर्गका विद्यालयले भन्दा २५ प्रतिशतसम्म बढी शूल्क लिन पाउने निर्णय भएको छ ।

कार्यपालिका बैठकले ‘ग’ वर्गको विद्यालयले १ कक्षाको मासिक शूल्क ३ हजार रुपैयाँ र १० कक्षाको मासिक शूल्क ४ हजार २ सय रुपैयाँसम्म लिन पाउने निर्णय गरेको छ । यसै आधारमा ‘ख’ वर्गको विद्यालयले २५ प्रतिशतसम्म बढी शूल्क लिन पाउने र ‘क’ वर्गको विद्यालयले ‘ख’ वर्गको विद्यालयको तुलना २५ प्रतिशतसम्म बढी शूल्क लिन पाउने निर्णय गरिएको छ ।

बुधबार बसेको कार्यपालिका बैठकले हेटौँडा–४, हुप्रचौरमा निर्माण गर्ने भनिएको व्यावसायिक भवनको ठेक्का सम्झौता रद्द गर्न निर्माण व्यवसायीले आर्विट्रेटरमार्फत अघि बढाएको प्रक्रियामा सहभागी हुने भन्ने प्रस्तावमा विवाद भएको बुझिएको छ । बागमती प्रदेश सभा सदस्य समेत रहनुभएका नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँसम्वद्ध निर्माण कम्पनिले ठेक्का सम्झौता गरेर व्यावसायिक भवन निर्माणस्थलमा रहेको पुरानो भवन भत्काए पनि नयाँ निर्माणको कार्य भने सुरु गरेको छैन । भवन निर्माण कार्यको सिलान्यास समेत गरिए पनि थप निर्माण कार्य अगाडि बढाएको छैन । तर, निर्माण कम्पनिले अवरोध भएको भन्दै निर्माण कार्य अगाडि बढाउन नसकेको जनाएर ठेक्का रद्द गर्ने प्रक्रियामा अगाडि बढेको देखिन्छ ।

बुधबारको कार्यपालिका बैठकमा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले आफ्नो वडामा निर्माण हुने भनिएको संरचनाको काम नै नभएको र अवरोध पनि नभएको अवस्थामा निर्माण कम्पनिले एकपक्षीय रुपमा ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाउँदा उपमहानगरले प्रतिवाद गर्नुपर्ने जीकिर गर्नुभएको एक वडा अध्यक्षले बताएका छन् । निर्माण कम्पनिले व्यावसायिक भवन निर्माण गर्दा घाटामा जाने देखिएपछि ठेक्का रद्दको प्रक्रियामा जाने रणनीति बनाएको बताइएको छ ।

यस्तै कार्यपालिका बैठकमा पालिकाको आय–व्ययको अवस्थाका बारेमा पनि प्रस्तुत भएको थियो । हेटौँडा उपमहानगरपालिकाको राजश्व शाखाका प्रमुख मनोज सुवेदीले प्रस्तुत गर्नुभएको आय–व्यय विवरणमा आयतर्फ अधिकांश सूचकमा लक्ष्यअनुसारको प्रगति हुन नसकेको र चालु आर्थिक वर्षमा आम्दानीका अधिकांश सूचकमा लक्ष्य हासिल हुने अवस्था देखिएको छैन । नदिजन्य पदार्थको उत्खननमा विपद् जोखिमको बहानामा नदीजन्य पदार्थ घाटगद्दी गर्ने निर्णय भएको स्रोतको दावी छ । यस्तै उपमहानगरपालिकाले स्वास्थ्य उपचारलगायतका विभिन्न बहानामा आर्थिक सहयोगसम्बन्धी निर्णय कार्यविधिअनुसार नै हुने गरी निर्णय गरेको छ । आर्थिक सहयोगसम्बन्धी प्रस्तावमा क–कसलाई, के कारणले, कति सहयोग गर्ने भन्ने विषय खुलस्त व्याख्या नगरी सहयोग गर्ने निर्णय मात्रै गरिने प्रचलन छ । बुधबारको बैठकमा हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई सामाजिक सुरक्षा कोषमा समेट्ने विषयमा पनि अध्ययन गर्ने निर्णय गरेको बताइएको छ ।