वाइसिएल मकवानपुरको सम्मेलनको विषयमा जानकारी दिनुहुँदै संयोजक लवराज ठकुरी ।

हेटौँडा : नेकपा माओवादी केन्द्र सम्वद्ध युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) मकवानपुरको जिल्ला सम्मेलन आगामी सोमबार (बैशाख २२ गते) हुने भएको छ । हेटौंडा–२ स्थित पल्पसा हलमा ‘उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन, सुशासन समृद्धि सामाजिक न्याय समाजवादको पक्षमा पाँचौ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ वाइसिएल मकवानपुरको सम्मेलन हुने भएको हो ।

बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै वाइसिएल मकवानपुरले जिल्ला सम्मेलनको बारेमा जानकारी गराएको हो । पूर्व उपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा सम्मेलन हुने वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनले युवाको सवाललाई सशक्त रुपमा उठान गरी पार्टी संगठनको नीतिगत तहमा पुर्‍याउन भूमिका खेल्नेछ । सम्मेलनले युवा पलायन, युवाहरुको अवसर, चुनौति र समस्या बारे नीतिगत सम्वादको थालनी गर्ने उहाँले जानकारी दिनुभयो । युवाहरुलाई आर्थिक सामाजिक, राजनीतिक तथा सुशासनका मुद्दामा सशक्त ढंगबाट अघि बढाउन भूमिका खेल्ने उहाँको भनाई छ ।

सम्मेलनमा मकवानपुरका १० स्थाानीय तहका चार सय प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनले ७१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गर्नेछ । पछिल्लो समय वाइसिएलमा युवाहरुको आकर्षण बढेको र युवा परिचालनलाई ध्यानमा राखेर नयाँ कार्यसमिति तयार गरी अघि बढ्ने तयारी गरिएको संयोजक ठकुरीले जानकारी दिनुभयो । हाल जिल्ला समितिमा २५ र स्थानीय तहका नेतृत्वको विभिन्न पदमा ३१ जना रहेका छन् । वाइसिएल मकवानपुर २ हजार बढी संगठित सदस्यहरु रहेको उहाँले दावी गर्नुभयो । पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष भीम पाख्रिनको पनि उपस्थिति रहेको थियो ।