हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा सोमबार ४ जनाको मृत्यु भएको छ । चितवन, नुवाकोट, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१४, राधापुरमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीया जुना परीयार रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बेलुका ८ बजेको समयमा जुना अचेत अवस्थामा फेला परेकी थिइन् । जुनालाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा राती ९ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोट जिल्लाको बिदुर नगरपालिका–१२, गौरीबेशीस्थित कफी पाल्टेक नहरमा एक जना वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ८२ वर्षीया कान्छिमाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । कान्छिमाया शनिबार दिउँसो ३ बजेको समयमा छोरीको घर जान्छु भनी हिँडेकी थिइन् । कान्छिमाया छोरीको घरमा नपुगेको भन्ने खबर पाएपछि खोजी गर्दै जाँदा आइतबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा कफी पाल्टेक नहरको छेउमा चप्पल, झोला र लठ्ठि फेला परेको थियो । सामान फेला परेपछि नहरको पानी सुकाएर खोजतलास गर्दा सोमबार दिउँसो १२ बजेर ५० मिनेटको समयमा कान्छिमाया मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७, तिपेनी दोभानमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा थाङपाल गाउँपालिका–८, सोले बस्ने ७८ वर्षीय अम्मर बहादुर भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ९ बजेर २० मिनेटको समयमा अम्मर बहादुर तिपेनी खोला र ईन्द्रावती खोलाको दोभानमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–१०, कैडालेमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया चन्द्रिका परियार रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार राती १० बजेर १५ मिनेटको समयमा सखुवाको रुख लडेर घर थिचिँदा सुतिरहेकी चन्द्रिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा एउटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ ।










