फोहोर संकलन दौडमा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरु ।

हेटौँडा : फोहोर संकलन दौडमा हेटौँडाका–९ का दिवस लामा प्रथम हुनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगपालिका–९ द्वारा आयोजित फोहोर संकलन दौड प्रतियोगितामा लामा प्रथम हुनुभएको हो । प्रतियोगितामा ६० जना सहभागी थिए ।

हेटौँडा–९, गुम्वाचोकदेखि मानवसेवा आश्रमसम्मको दूरी फोहोर संकलन गर्दै ४० मिनेटमा पूरा गर्नुपर्ने थियो । प्रतियोगीहरुलाई एउटा फोहोर संकलन गर्न प्लास्टिकको झोला प्रदान गरिएको थियो । ६ किलो ९८ ग्राम फोहोर संकलन गरी लामा प्रथम हुनुभएको हो । ५ किलो ९४ ग्राम फोहोर संकलन गर्नुभएका दिपु डंगोल द्वितीय हुनुभयो । ५ किलो ०६ ग्राम फोहोर संकलन गरी दिवस खतिवडा तृतीय हुनुभएको राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३ हजार, २ हजार, १ हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

सरसफाई, सचेतना र युवा सहभागिताको विषयलाई एकसाथ प्रस्तुत गर्ने गरी प्रतियोगिता आयोजना गरिएको बताइएको छ । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–९ का अध्यक्ष सुदर्शन भट्टराईको सभाध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपालको लेखा समिति संयोजक सन्तोष चौलागाईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा सहभागी ६० जनाले ८० किलो फोहोर जम्मा गरेको नगरकोटीले जानकारी दिनुभयो ।