हेटौंडा : मकवानपुर तेक्वान्दो डोजाङले आयोजना गरेको अन्तरडोजाङ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । शनिबार हेटौंडा–४ स्थित कभर्डहलमा चौथो संस्करणको अन्तरडोजाङ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा छात्रतर्फ सुशान्त शाह र छात्रातर्फ निमिसा भुजेल उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी प्राप्त गरेका छन् । मकवानपुर तेक्वान्दो डोजाङका प्रमुख निरूकुमारी मगरको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वडाध्यक्ष सिग्देलले खेलकुदबिनाको शिक्षा अधुरो हुने धारणा राख्नुभएको छ । प्रतियोगिताको आयोजना गरेर डोजाङले प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास गरेको उहाँले बताउनुभयो । उहाँले वडाभित्र रहेको विद्यालयले विद्यार्थीलाई क्रिकेट, फुटबल, भलिबल, कराँते, तेक्वान्दोको प्रशिक्षण दिन फरक–फरक एकेडेमी सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
४ नम्बर वडाभित्रका विद्यालयका विद्यार्थीलाई सहभागिता गराएर फरकफरक खेलको प्रशिक्षण दिएर छुट्टाछुट्टै क्षमता विकास गर्नुपर्ने उहाँले बताउनुभयो । खेलकुदको प्रशिक्षण र पढाइको समयलाई छुट्याउनुपर्ने उहाँको भनाइ छ । विभिन्न प्रकारका खेलकुद ४ नम्बरमा हुने भएकाले यसलाई खेलकुदको केन्द्रको रुपमा लिनसक्ने उहाँले बताउनुभयो । प्रतियोगितामा आयोजक मकवानपुर तेक्वान्दो डोजाङ र हेटौंडा–२ स्थित सिद्धार्थ तेक्वान्दो डोजाङका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा करिब ८५ जना खेलाडीहरुको सहभागिता रहेको मकवानपुर तेक्वान्दो डोजाङ प्रमुख मगरले जानकारी दिनुभएको छ । छात्रतर्फ १७ केजी तौल समूहदेखि ५२ केजी तौल समूहसम्मका खेलाडीहरुको सहभागिता रहेको थियो भने छात्रातर्फ १८ केजी तौल समूहदेखि ५० केजी तौल समूहसम्मका खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रत्येक तौल समूहबाट प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिएको छ । विजेताहरुलाई डोजाङ प्रमुख मगरले मेडल तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । मकवानपुर तेक्वान्दो डोजाङले खेलाडीहरुको क्षमता विकास गर्न र खेलाडीहरुलाई विभिन्न प्रतियोगितामा सहभागी हुने क्रममा सहज होस् भनेर विगत ४ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा पुरुषतर्फ १३ वटा विधामा प्रतिस्पर्धा गराइएको थियो भने महिलातर्फ १२ वटा विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिता उद्घाटन समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यलगायतको आतिथ्य रहेको थियो ।










