हेटौँडा : बागती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्रीका स्वकीय सचिवको मृत्युको विषयलाई लिएर प्रदेशमा प्रतिपक्षमा रहेका तीन दलले मन्त्रीको राजीनामा मागेका छन् । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र तथा प्रतिपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले विज्ञप्ति मार्फत घटनाको निष्पक्ष छानविनका लागि सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
मन्त्री श्रेष्ठका स्वकीय सचिव, धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–९ का रवि थापाले १३ फागुनमा काठमाडौंको कलंकीस्थित साथीको घरमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्वकीय सचिव थापाले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट र सहकारी सम्बन्धी सार्वजनिक भएको अडियोमा मन्त्री श्रेष्ठको नाम आएको र स्वकीय थापाको आत्महत्या वाध्यात्मक परिस्थितिमा भएको देखिएकोले मन्त्री श्रेष्ठले राजीनामा दिएर छानविनमा सघाउनुपर्ने उनीहरुको माग छ ।
तीन दलका सचेतकहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा स्वकीय सचिव थापाको मृत्यु बाध्यात्मक देखिएकाले निष्पक्ष छानविनका लागि माग गर्दै मन्त्रीको राजीनामा माग गरेको उल्लेख गरिएको छ । ‘स्वकीय सचिवको मृत्युपछि बाहिरिएको अडियो र सुसाइड नोटमा सहकारी मन्त्री लगायत अन्य नेताहरुको समेत नाम सुनिएको छ । बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आशयका समाचारहरु पनि आएका छन् । यसकारण मन्त्री ज्यूले राजीनामा दिएर छानविनमा मार्ग प्रसस्त गर्नुपर्छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घटनाको विषयमा गम्भिरतापूर्वक विचार गर्न माग गर्दै प्रतिपक्षी दलहरुले घटनाको प्रदेशस्तरमै छानविन गर्न संसदीय छानविन समिति समेत बनाउन माग गरेका छन् । यसैगरी उनीहरुले प्रदेश सभाको बैठक अविलम्व आव्हान गर्न पनि भनेका छन् । ‘प्रदेशसभाको बैठक अविलम्व सञ्चालन गरी स्वकीय सचिव थापाको मृत्युको छानविन गर्न सर्वदलीय संसदीय छानविन समिति निर्माण गर्न माग गर्दछौ,’ उनीहरुले भनेका छन् ।