हेटौंडाः हेटौंडामा जारी हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष भलिबलको फाइनल समीकरण पूरा भएको छ । पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबलको फाइनल खेल आज शुक्रबार सञ्चालन हुने भलिबलका संयोजक नरेन्द्र मोक्तानले जानकारी दिनुभएको छ ।
पुरुषतर्फको खेलमा सिद्धार्थ माध्यमिक विद्यालय र निर्मल माध्यमिक विद्यालयले फाइनलको यात्रा पूरा गरेको छ भने महिलातर्फ हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवसीय माध्यमिक विद्यालय र हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले फाइनलको यात्रा पूरा गरेको छ । पुरुष तर्फको खेलमा ज्योति माध्यमिक विद्यालयलाई २५–४ र २५–६ को सोझो सेटले ज्ञानोदय माविले पराजित गरेको छ भने पुरुषतर्फकै अर्को खेलमा जनप्रिय माविलाई २५–१० र २५–१२ को सोझो सेटले सिद्धार्थ माविले पराजित गरेको छ ।
यस्तै, महिलातर्फको पहिलो खेलमा आधुनिक माविलाई २५–१८ र २५–१५ को सेटले सिद्धार्थ माविले पराजित गरेको छ भने दोस्रो खेलमा जनप्रिय माविलाई २५–१३ र २५–१२ को सेटले निर्मल माविले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत आज महिला र पुरुषको फाइनल खेल हुने प्रतियोगिताका संयोजक नरेन्द्र मोक्तानले बताउनुभयो । पुरुष तर्फको फाइनल खेल बिहान ८ बजे हुनेछ भने महिलाको २ बजे हुनेछ । प्रतियोगितामा पुरुषको १० वटा र महिलाको ८ वटा टिमहरुको सहभागिता रहेको थियो ।