प्रतियोगितामा प्रथम भएको नवोदयका शिशु सदनका चिराग डंगोललाई पुरस्कार वितरण गरिँदैको तस्वीर ।

हेटौंडाः गायन प्रतियोगितामा हेटौंडा–४ स्थित नवोदयका शिशु सदनका चिराग डंगोल प्रथम हुनुभएको छ । हेटौंडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको गायन प्रतियोगितामा डंगोल प्रथम हुनुभएको हो ।

विद्यालय आयोजना गरेको तेस्रो संस्करणको भीम विराग स्मृति अन्तरविद्यालय गायन प्रतियोगितामा वडा–२ स्थित बालजागृति इङ्ग्लिस बोर्डिङ स्कूलका आर्मन कार्की द्वितीय, सोलिड्यारिटी इन्टरनेसनल बोर्डिङ स्कूलका बृस्मा गहतराज तृतीय हुनुभएको हो । प्रथम, द्वितीय, तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक बेनु शर्मा पराजुलीले जानकारी दिनुभयो । नवोदयकै समृद्धि आचार्यले प्रोत्साहनस्वरुप २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नुभएको हो । प्रतियोगितामा २७ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

आज शुक्रबार विद्यालयको १३ औँ अभिभावक दिवसमा शिशु कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीको सहभागितामा नृत्य प्रस्तुति रहनेछ । अभिभावक दिवसमा ड्रामा प्रदर्शन गरिने विद्यालयका प्रधानाध्यापक सन्तोष शर्माले जानकारी दिनुभयो । गत वर्षको एसईई मा ४ जिपीए ल्याउन सफल विषयगत शिक्षकका सार्थ वार्षिक र नियमित शुल्क बुझाउने अभिभावकलाई सम्मान गरिनेछ । साथै, बिभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई सम्मान गरिने प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो ।