हेटौँडा : आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले निर्वाचन समिति गठन गरेको छ । बुधबार क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पसका प्राचार्य सन्देश विडारीको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरिएको सहायक क्याम्पस प्रमुख संगम चौलागाईले जानकारी दिनुभयो ।
२०७९ साल चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको कार्यकाल आगामी चैत ४ गते कार्यकाल सकिँदैछ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै चैत ५ गते मतदान हुने मिति तय गरेको छ । मकवानपुर बहुमुखी क्याम्पसले निर्वाचन समितिको सदस्यमा उमेश अर्याल, गौतम केसी, र प्रकाश पहाडी रहने गरी ४ सदस्यीय समिति गठन गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले फागुन १९ गते संघ, संगठन, समूह दर्ताको मिति तय गरेको छ । मतदाताको सूचि फागुन २१ गते सार्वजनिक गर्नुपर्ने, उम्मेद्वारी दर्ता फागुन २७ गते तय गरेको छ । विद्यार्थीको हकहितको पक्षमा पैरवी गर्ने औपचारिक संस्थाको रुपमा स्ववियुको परिकल्पना गरिएको हो । स्ववियुले क्याम्पसको सञ्चालक समितिमा समेत विद्यार्थीको प्रतिनिधित्व गर्ने गर्दछ ।