हेटौँडा : हेटौँडामा भएको यामाहा स्कूटर माइलेज प्रतियोगितामा हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीकी शिक्षक सेफाली भट्टाचार्य विजेता बन्नु भएको छ । हेटौँडाका लागि यामाहा कम्पनीको मोटरसाइकलका लागि आधिकारिक विक्रेता राज मोटर्सले शनिबार आयोजना गरेको यामाहा स्कूटरको माइलेज प्रतियोगितामा शिक्षक भट्टाचार्य विजेता बन्नु भएको हो । २४ जनाको सहभागिता रहेको यामाहाको रे–जेड–आर १२५ एफआई हाइब्रिड स्कुटरको माइलेज च्यालेन्जमा अधिक उमेरका व्यवसायी शम्भु प्रसाद खनाल द्वितीय हुनुभएको छ । यस्तै, सुजन घिमिरे भने तृतीय हुनुभएको छ ।
प्रतिलिटर भट्टाचार्यले ७३.३३ किलोमिटर, खनालले ७२.१३ किलोमिटर र घिमिरेले ७०.९७ किलोमिटर यात्रा तय गर्नुभएको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनुभएको छ । हेटौँडाबाट २५ किलोमिटर परिक्रमा गरेर मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको गढी भ्यु रेष्टुरेन्टसम्म पुगेर र्यालीको समापन गरिएको सञ्चालक राजन श्रेष्ठले बताउनुभयो । हेटौँडा कान्तिलोकपथबाट हेटौँडा उपमहानगरको परिक्रमा गरिएको उहाँले बताउनुभयो ।
विजेता भट्टचार्यले यात्रा गर्दा सजिलो हुने भएकोले यामहाको स्कूटर छनौट गरेको बताउनुभयो । यसअघि फेसिनो स्कूटर चलाउने गरेकोमा २ वर्ष अघिबाट नै यामाहाको स्कूटर चलाउन सुरु गरेको उहाँले बताउनुभयो । यामाहा कम्पनीको स्कूटरले माइलेज पनि कम पेट्रोलमा राम्रो दिन गरेको उहाँको धारणा छ ।
उपविजेता बन्नुहुने खनालले यामाहाको हाइब्रिड स्कूटर खरिद गरेदेखि सजिलो भएको बताउनुभएको छ । आफू पेसा, व्यवसायमा लागेको कारणले सामान ल्याउन र ओसर्न सजिलो भएको उहाँले बताउनुभयो । प्रतिलिटरमा ७२.७ किलोमिटरको माइलेज दिएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । तृतीय स्थानमा पर्नुभएको घिमिरेले पहिलादेखि माइलेज राम्रो भएकोले स्कूटर लिएको उहाँले बताउनुभयो ।
प्रतियोगिताका विजेताहरुलाई मूर्ति र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा राज मोटर्स हेटौंडाकी सञ्चालक एन्जिला श्रेष्ठ, यामाहा मोटरसाइकलको नेपालका लागि विक्रेता एमएडब्लु राइड्सका क्षेत्रीय बिक्री प्रबन्धक मणिभूषण चौधरी र इन्जिनियर जीतेन्द्र प्रसाद कहारलको उपस्थिति रहेको थियो ।