हेटौँडा : हेटौंडा–१७, हटियास्थित प्रस्तावित श्री कृपालु चिकित्सालयमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । शनिबार भएको शिविरमा एक सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा सामान्य चिकित्सा, फिजियोथेरापी, मुटु, कलेजो, मिर्गौला र पेट सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।
मासिक रुपमा संचालन हुने शिविरमा सिद्धस्थली रुरल कम्युनिटी अस्पताल र हेटौँडा अस्पतालका चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । हेटौँडा अस्पतालका जनरल फिजिसियन डा. उदित आचार्य, सिद्धस्थली रुरल कम्युनिटी अस्पतालका डा. अबन गौतम, राष्ट्रिय बहिरा महासंघ नेपालमा कार्यरत फिजियोथेरापिष्ट डा. निशा राना, ल्याब टेक्निसिएन प्रतिक्षा पौडेल, हटिया अस्पतालकी अनमी संगीता गौतम र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स अस्मिता काफ्लेले स्वास्थ्य जाँच गर्नुभएको थियो ।
श्री राधा माधव समिति नेपाल, जगद्गुरुतम मन्दिर अध्यात्म केन्द्र र डिभाइन युथ क्लब नेपालको संयुक्त आयोजनामा शिविर भएको हो । उद्घाटन कार्यक्रममा सहभागी अतिथिले आगामी दिनमा संस्थासँग जोडिएर सहकार्य र समन्वय गर्ने बताएका छन् । २०७६ पुस महिनादेखि सुरु भएर हालसम्म ३५ पटक भन्दा बढी शिविर सञ्चालन गरिसकेको र यसलाई निरन्तरता दिइने डिभाईन युथ क्लब नेपालले जनाएको छ । विशेषज्ञ डाक्टरहरुबाट हेटौंडाका स्थानीय बासिन्दालाई अझै लाभ पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको क्लबले जानकारी गराएको छ ।