हेटौँडा ः बागमती प्रदेशसभाको बैठक आज बिहीबार पनि बस्दैछ । आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्नेछ । बैठकमा विशेष समयको कार्यसूचि निर्धारण गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभएको छ ।
गुप्ताका अनुसार प्रदेशसभाको बैठकमा निर्वाचन क्षेत्र केन्द्रीत विशेष समयको कार्यसूचिमा प्रदेश सभा सदस्यहरुले निर्वाचन क्षेत्रका समस्या, विकासका काम, आवश्यकता आदिका विषयमा धारणा राख्नेछन् । सो बैठकमा प्रदेश लोकसेवा आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेश हुने कार्यसूचि रहेको छ । बैठकमा गत आर्थिक वर्षमा लोकसेवा आयोगले गरेका काम कारवाही लगायतका विषयहरु समेटिएको वार्षिक प्रगति प्रतिवेदन पेश हुनेछ ।
यसअघि प्रदेशसभाको बुधबार बसेको बैठकमा ५ विधेयकहरु पेश भएको थियो भने उक्त विधेयकहरु माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरिएको थियो ।