हेटौंडा: मकवानपुरको थाहा नगरपालिकामा जारी अन्तर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ३ नम्बर वडा प्रवेश गरेको छ । थाहा नगरपालिकाको आयोजना तथा वडा नम्बर–११ स्थित ऋषेश्वर फुटबल क्लबको व्यवस्थापनमा बुधबार भएको क्वाटरफाइनल चरणको खेलमा १० नम्बर वडालाई हराउँदै ३ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तर्गत आज बिहीबार क्वाटरफाइनल चरणको २ खेल हुनेछ । पहिलो खेलमा वडा–१२ र वडा–१ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा वडा–७ र वडा–८ बीच प्रतिस्पर्धा हुनेछ ।
बुधबार भएको पहिलो खेलमा ७ नम्बर वडा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ भने दोस्रो खेलमा विजयी हुँदै वडा–१ क्वाटरफाइनलमा प्रवेश गरेको छ । वडा–२ लाई ४–० गोलको फराकिलो अन्तरले वडा–१ ले हराएको छ भने वडा–१० लाई २–० गोलले ३ नम्बर वडाले हराएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडी र प्रत्येक खेलको म्यान अफ म्याचका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल माघ २६ गते हुनेछ ।