वडाध्यक्ष कप भलिबलको उपाधि साथ १२ नम्बर वडाको टिम ।

हेटौँडा: हेटौँडा–१२, पदमपोखरीमा भएको वडाध्यक्ष कप उपमहानगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि हेटौंडा–१२ ले जितेको छ । बुद्ध माध्यमिक विद्यालयको भलिबल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा हेटौँडा–११ लाई ३–१ को सेटले हराउँदै हेटौँडा–१२ ले उपाधि जितेको हो ।

उपाधिसँगै हेटौंडा–१२ को टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता हेटौँडा–११ को टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । पहिलो सेटमा २५–२२ ले पराजित गरेको हेटौंडा–१२ ले दोस्रो सेटमा हेटौंडा–११ सँग २५–२१ ले पराजित भएको थियो । हेटौंडा–१२ ले तेस्रो र चौथो सेटमा हेटौंडा–११ लाई क्रमशः २५–१६ र २५–२० ले पराजित गरेर उपाधि जितेको हो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै हेटौँडा–१२ का कुशल तामाङले ३ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरेका छन् । सर्वोकृष्ट सेटर हेटौंडा–१२ का उत्सव आले मगर, उत्कृष्ट डिफेन्डर हेटौंडा–१२ कै बुद्धिकृष्ण दंगाल र उत्कृष्ट स्पाइकर हेटौँडा–११ का निश्चल आले मगर घोषित हुँदै जनही १ हजार ५ सय रुपैयाँ नगद तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिता माघ १६ गतेबाट सुरु भएको थियो ।

शनिबारै सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा हेटौंडा–६ लाई ३–० को सोझो सेटले हराउँदै हेटौंडा–११ फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा हेटौंडा–१७ लाई ३–२ को सेटले हराउँदै हेटौंडा–१२ फाइनलमा प्रवेश गरेको थियो ।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्य तथा १२ नम्बर वडा खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाईंको सभाध्यक्षमा समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको हो । प्रतियोगिताको समापन समारोहमा ११ नम्बर वडाध्यक्ष जुना दहाल, १२ नम्बर वडाध्यक्ष अर्जुनप्रसाद तिवारी, नारायणी कलेजका प्राचार्य रघुनाथ खराललगायत विभिन्न खेलक्षेत्रमा आवद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

१२ नम्बर वडा कार्यालयले एक लाख २५ हजार रुपैयाँ सहयोग गरेको प्रतियोगितामा प्रथम पुरस्कार राशि हेटौंडा–१० स्थित नारायणी कलेजले प्रायोजन गरेको थियो । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पुरस्कारको प्रायोजन लर्डबुद्ध एकेडेमीले गरेको थियो भने उपविजेताका लागि सहप्रयोजकको रुपमा सनराइज बोर्डिङ स्कूल रहेको थियो । प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक मनोज लामा स्याङ्तानले जानकारी दिनुभएको छ ।