हेटौँडा : हेटौँडा-५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन माध्यमिक विद्यालयले २४ औं अभिभावक दिवसको अवसरमा ५ जना अभिभावकलाई सम्मान गरेको छ । शुक्रबार सम्पन्न अभिभावक दिवसको अवसरमा पूर्व प्राथमिक तहतर्फ सन्तोष कुमार अर्याल, कक्षा १ देखि ३ बाट आरती थापा, कक्षा ४ देखि ६ बाट विष्णुकुमारी लामिछाने, कक्षा ७ र ८ बाट मुकुन्द प्रसाद भट्टराई र कक्षा ९ र १० बाट बन्दना आचार्यलाई सम्मान गरिएको हो ।
आफ्ना बालबालिकाको पठनपाठनको विषयमा विद्यालयमा नियमित सम्पर्कमा रहीरहने, आफ्ना बालबालिकाको विषयमा निरन्तर चासो व्यक्त गर्ने अभिभावक मध्येबाट ५ जनालाई सम्मान गरिएको विद्यालयले जनाएको छ । यसअघि विद्यालयले २ जना अभिभावकलाई मात्रै सम्मान गर्दै आएकोमा यस वर्षदेखि तहगत अभिभावक सम्मान गर्न सुरु गरेको प्रिन्सीपल ईश्वरप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
यस्तै विद्यालयले उत्कृष्ट शिक्षक र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरेको छ भने उत्कृष्ट विधागत विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा अभिभावक दिवस कार्यक्रम भएको हो । कार्यक्रममा विज्ञान, गणित, सामाजिक, स्वास्थ्य विषयको शैक्षिक प्रदर्शनी रहेको थियो ।
अभिभावक भेलामा प्रिन्सिपल लामिछानेले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । गत वर्ष पालिकास्तरीय परीक्षामा संस्थागत विद्यालयतर्फ जिल्लामा सबैभन्दा बढी ‘ए’ प्लास ल्याउने ५८ जना र १२ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएको उहाँले जानकारी दिनुभयो । विद्यालयले करिव ३ सय विद्यार्थीलाई पूर्ण एवम् अंशिक छात्रवृत्ति दिने गरेको प्रिन्सिपल लामिछानेले बताउनुभयो ।
दिवसमा स्वास्थ्य शिविर कार्यक्रमसँगै साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेको छ । जीएस निकेतनमा १ हजार ५ सय ४८ विद्यार्थी अध्ययनरत् छन् । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देल, १८ नम्बर वडा अध्यक्ष अनिलकुमार बानियाँ, हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन मकवानपुरका अधयक्ष विनोद सुवेदी, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ऋषिराम पोखरेलको पनि आतिथ्य रहेको थियो ।