सुमी श्रेष्ठ

शिक्षण पेशामा लागेको पनि एक दशकभन्दा बढी समय बितिसकेको छ । यस अवधिमा मैले अनेकौं अनुभवहरू सँगालेकी छु, जसले मलाई शिक्षण पेशाका विविध पाटाहरू बुझ्न मद्दत गरेको छ ।

मेरो शिक्षण यात्रा विषय शिक्षकको रूपमा सुरु भयो । लगभग १५ वर्षसम्म मैले विषय शिक्षकको भूमिका निर्वाह गरेँ । त्यो समय विद्यार्थीहरूलाई निश्चित विषयबारे ज्ञान दिनमा केन्द्रित रहन्थेँ । तर, केही वर्षअघि म ग्रेड शिक्षकको रूपमा काम गर्न थालेँ । अहिले कक्षा ५ को ग्रेड शिक्षकको भूमिकामा छु । यस भूमिकाले मलाई शिक्षणको गहिराइमा पुग्ने र बालबालिकाको मनोविज्ञानलाई नजिकबाट बुझ्ने मौका दिएको छ ।

जब मैले ग्रेड शिक्षकको जिम्मेवारी सम्हाल्न थालेँ, आरम्भमा मलाई निकै अप्ठ्यारो महसुस भयो । म यस भूमिकाका जिम्मेवारीबारे अनविज्ञ थिएँ । विद्यालयले तालिमको अवसर प्रदान गरे तापनि त्यसले मात्रै पर्याप्त ज्ञान दिन सकेन । मलाई यो भूमिकामा आफूलाई अभ्यस्त बनाउने प्रयासमा धेरै लगाव र लगानी गर्नुपर्यो।

मैले विभिन्न स्रोतहरूको सहारा लिएँ । अनलाइन सामग्री अध्ययन गरेँ, पुस्तकहरू र विभिन्न शैक्षिक लेखहरू पढेँ । मेरो प्राथमिक उद्देश्य बालबालिकालाई राम्रोसँग बुझ्ने र उनीहरूको स्वभावअनुसार सिकाइ प्रक्रियालाई सहज बनाउने थियो । बालबालिकाको स्वभाव कोमल र संवेदनशील हुन्छ । उनीहरूले झर्किने र कडा व्यवहार मन पराउँदैनन् । उनीहरूसँग सहकार्य गर्दा सुरुमा उनीहरूको साथी बन्नु आवश्यक हुन्छ । माया र गालीको सन्तुलन राख्नुपर्ने कुरा मेरो मुख्य शिक्षा बन्यो ।

मेरो कक्षामा विभिन्न स्वभाव र रुचिका विद्यार्थीहरू छन् । कसैलाई चुपचाप पढ्न मन पर्छ भने कसैलाई हल्ला गरेर । यस्तो अवस्थामा मैले उनीहरूलाई अनुशासनमा राख्ने प्रयास गरेँ । मैले अभिभावकसँग संवाद बढाएँ, अनुसन्धान र प्रयोगका माध्यमबाट उनीहरूलाई नयाँ तरिकाले सिकाउने उपायहरू खोजेँ । मैले सिकाइलाई रमाइलो बनाउनका लागि खेलहरू, समूह गतिविधिहरू र रचनात्मक तरिकाहरू समावेश गरेँ ।

कार्ड खेल ः विद्यार्थीसँग रमाइलो संवाद गर्दै ज्ञान बाँड्न उपयोग गरेँ ।
हुमन बिङ्गो ः विद्यार्थीहरूको सहभागिता बढाउने गतिविधि ।
समूह कार्य ः सहकार्यको भावना विकास गर्न उपयोगी ।

ग्रेड शिक्षकको रूपमा मैले धेरै नयाँ कुरा सिक्न पाएँ । बालबालिकाको मनोविज्ञानलाई बुझ्न र उनीहरूसँग नजिक हुनुपर्छ भन्ने मेरो मुख्य सिकाइ हो । मायालु तर अनुशासनयुक्त वातावरणमा सिकाइको प्रभाव धेरै राम्रो हुन्छ । मैले आफ्नो शिक्षण यात्रामा सधैँ सुधार र नयाँ खोज गर्ने प्रण गरिरहेकी छु । म आफ्नो शिक्षणलाई अझ स्तरीय र प्रभावकारी बनाउन निरन्तर लागिरहनेछु ।

हेटौँडा–२