हेटौंडाः हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयको खेलकुद सप्ताहमा पहेँलो सदन वर्षको उत्कृष्ट सदन भएको छ । पुस २६ गते सुरु भएर २९ गतेसम्म भएको प्रतियोगितामा विद्यालयको पहेँलो सदनका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
खेलकुद सप्ताहमा हरियो सदन द्वितीय हुँदा निलो सदन तृतीय भएको छ । मंगलबार विद्यालयले प्रथम, द्वितीय र तृतीय हुने सदनका विद्यार्थीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रनाथ पोखरेलको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो । समापन समारोहमा हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरेको विशिष्ट आतिथ्य रहेको थियो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला र विद्यालयमा सञ्चालन भएको विभिन्न खेलकुद विधामा सहभागी भएका ९ सय जनाभन्दा बढी विद्यार्थीमध्ये ६ सय जनालाई पुरस्कृत गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अमीत क्षेत्रीले जानकारी दिनुभएको छ । नर्सरी कक्षादेखि १० कक्षासम्मका विद्यार्थीको सहभागितामा फुटबल, भलिबल, डोरी तान्ने (टगअफ वार), म्याराथन, १ सय मिटर दौड, म्युजिकल चियर, तालो आलुलगायतका खेलहरु सञ्चालन भएको उहाँले बताउनुभयो ।
विद्यालयले यस वर्षबाट खेलकुद सप्ताह कार्यक्रम आयोजना गर्न सुरु गरेको उहाँले बताउनुभयो । पुस २६ गते शुक्रबार मार्चपास, झाँकीसहितको नृत्य, तेक्वान्दोको काता प्रदर्शनी र बाजागाजासहित प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
खेलकुद सप्ताहको पुरस्कार वितरण कार्यक्रमकै अवसरमा २०८० सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा ३ दशमलब ६ भन्दा बढी जीपीए ल्याउने सन्तोष यादव, रिवाज काफ्ले, रितेश लम्साल, सम्पदा निरौला र प्रशिक्षा खतिवडालाई ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको छ । कार्यक्रममा ४ वटा सदनको सदन शिक्षक र अतिरिक्त क्रियाकलाप प्रशिक्षकलाई पनि सम्मान गरिएको छ ।
पुरस्कार वितरण कार्यक्रममै विद्यालयमा लामो समय अध्यापन गरेर निवृत्त हुनुभएका शिक्षक सावित्री मानन्धर र वरदराज वाग्लेलाई बिदाइ गरिएको छ । विद्यालयका सहायक प्रधानाध्यापक समेत रहनुभएका वाग्लेले २०४६ सालदेखि र मानन्धरले २०५३ सालदेखि विद्यालयमा अध्यापन गराउनु भएको थियो ।
खेलकुदले विद्यार्थीको अनुशासन र मनोबल बढाउने भएकाले हरेक विद्यालयमा प्रतियोगिता आयोजना गर्न जरुरी रहेको विद्यालयका प्रधानाध्यापक भरत अर्यालले बताउनुभयो । बालज्योतिको इच्छा, गुणस्तरीय शिक्षा भन्ने नारालाई सार्थक बनाएर यस वर्षदेखि वार्षिक खेलकुद कार्यक्रम आयोजना गर्न थालेको प्रधानाध्यापक अर्यालले बताउनुभयो । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउनका लागि नृत्य, गायन, मार्शल आर्ट, स्काउट र भाषण कला शिक्षकहरुको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।