हेटौंडा: हेटौंडामा आज मंगलबारबाट टियु फरेष्ट्री गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वनविज्ञान क्याम्पस हेटौंडामा अध्ययनरत २०७८–८२ संकायको आयोजनामा प्रथम संस्करणको फरेष्ट्री गोल्कप फुटबल प्रतियोगिता हुने भएको हो ।

आइतबार क्याम्पसमा पत्रकार सम्मेलन गर्दै महिला तथा पुरुष टिमको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागेको संयोजक सुजित चिलुवालले जानकारी दिनुभएको छ । महिलातर्फको प्रतियोगिता १६ गतेदेखि सुरु हुने संयोजक चिलुवालले बताउनुभयो । कलेजमा हरेक वर्ष छुट्टाछुट्टै संकायका विद्यार्थीले प्रतियोगिताको आयोजना गर्दै आएको उहाँले बताउनुभयो । महिला तथा पुरुषको अन्तिम खेल भने माघ २३ गत हुने उहाँले बताउनुभयो ।

प्रतियोगितामा कृषि तथा वनविज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका पुरुषतर्फ १० वटा टिम र महिलातर्फ ६ वटा टिमको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने प्रतियोगितामा वडा कार्यालयहरु, तुल्सीमेहर मेमोरियल बोर्डिङ, सोलिड्यारिटी बोर्डिङ, बालजागृति बोर्डिङलगायत अन्य निकायबाट सहयोग प्राप्त हुने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र कलेजबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त हुने उहाँले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि २ लाख ५० हजार रुपैयाँ खर्च हुने अयोजकको अनुमान रहेको छ ।

मंगलबार पुरुषतर्फको पहिलो खेलमा आयोजक र १३ औं संकायका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा हुनेछ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) वन विज्ञान क्याम्पस कमिटीका कार्यबाहक अध्यक्ष अमृत देवकोटाले क्याम्पसका विद्यार्थीको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । दुईवटा विश्वविद्यालयका विद्यार्थीबीच भातृत्व सम्बन्ध स्थापना गराउन प्रतियोगिताको आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको पुरुषतर्फको उपाधि विजेता टिमले २५ देखि ३० हजार रुपैयाँ तथा उपविजेता टिमले १५ देखि २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फको उपाधि विजेता टिमले १५ देखि २० हजार रुपैयाँ र उपविजेताले ७ देखि १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।