मुलुकको खेल क्षेत्र अझै उपेक्षित जस्तो भइरहेको छ । सरकारले खेलकुद क्षेत्रमा पर्याप्त बजेट व्यवस्था नगर्दा विभिन्न खेलकुद गतिविधि र खेलाडीको वृत्ति विकासमा समस्या भइरहेको हो । देशमा सबैजसो खेल खेलिने र सामान्य प्रकारका प्रतियोगिताहरु हुने गरेको भए पनि अधिकांश खेलाडीले खेलेरै जीवनयापन गर्ने अवस्था नहुँदा खेलाडी पलायनसमेत बढेको छ । खेलको अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्ने उपयुक्त पूर्वाधार नहुनु र ठूलो पुरस्कार राशिका प्रतियोगिता नहुनुले खेल तथा खेलाडी प्रोत्साहित हुन सकेका छैनन् । क्रिकेट र फुटबलका केही खेलाडी खेल क्षेत्रबाटै हुने आम्दानीले जीवनयापन गर्नसक्ने अवस्था भए पनि अन्य खेलका राष्ट्रिय खेलाडीले समेत अन्यत्र रोजगारी खोज्नुपर्ने बाध्यता छ । संघ, प्रदेश तथा स्थानीय तीन तहको सरकारले केही खेलका सामान्य खालका प्रतियोगिता सञ्चालनका लागि सिमित बजेट दिनेबाहेक खेल क्षेत्रको विकासका लागि प्रभावकारी काम गर्न सकेको छैन ।

सरकारले हरेक दुई वर्षमा आयोजना गर्ने भनेको राष्ट्रिय खेलकुद प्रतियोगितासमेत उपेक्षामा पर्ने गरेको छ । खेलकुदका लागि आवश्यक पूर्वाधार, तयारी र बजेटको अभावमा तोकिएको समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न कठिन भइरहेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि पूर्वघोषित समयमा हुन सकेन । उक्त प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट, प्रशिक्षण र अन्य व्यवस्थापनमा प्रदेश सरकारले पर्याप्त ध्यान र्पुयाउन सकेको छैन । आगामी चैत २५ देखि ३० गतेसम्म हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट अभाव रहेको भन्दै बागमती प्रदेश खेलकुद विकास परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत् थप बजेट माग गरेको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३ करोड ७५ लाख बजेट पाएको मन्त्रालयले ७ करोड ५० लाख थप बजेट माग गरेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले ५ करोड रुपैयाँ बजेट थप गर्ने भएको छ ।

बागमती प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अब ८ करोड ७५ लाख रुपैयाँ बजेट परिचालन गर्नसक्ने भएको छ । ३६ विधाका खेलाडी सहभागी गराउने योजनामा रहेको बागमती प्रदेशले अब प्रतियोगिताको तयारी अघि बढाउनेछ । प्रतियोगिताका लागि खेलाडी छनोट तथा प्रशिक्षण गर्न नसकेको प्रदेश सरकारले करिब दुई महिनाको अवधिमा कस्तो तयारी गर्ला ? चालु आर्थिक वर्षका लागि ७४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको युवा तथा खेलकुद मन्त्रालयले दशौं राष्ट्रिय खेलकुदका लागि विनियोजन बजेटबाट केही खेलका खेलाडी छनोट गरेर प्रशिक्षण सुरु गरेको भए प्रतियोगिताको नतिजा पनि राम्रो आउँथ्यो होला । बजेट अभाव रहेको भन्दै भएको बजेटसमेत कार्यान्वयन नगर्दा अन्तिममा हतारहतार काम गरेर बजेट सक्ने मेलोमेसोले कस्तो उपलब्धि हासिल होला ?

गत वर्ष अन्तर प्रदेश खेलकुद प्रतियोगितामा ९ करोड रुपैयाँ बजेट व्यवस्था भएको भन्दै यस वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ८ करोड ७५ लाख बजेटले खेलाडी छनोट गर्नसमेत कठिन हुने खेलकुद मन्त्रीको भनाइ छ । खेलाडी छनोट, खेलाडीको आवास खर्च, खेलाडीको पारिश्रमिक तथा सेवा सुविधामा गर्नुपर्ने खर्च अपुग हुने मन्त्रीको दावी छ । सहभागिता जनाउनुपर्ने खेल तथा खेलाडीको संख्या तथा खेलाडीका लागि दिनुपर्ने सुविधाको हिसाबले बजेट अपर्याप्त भए पनि भएको बजेट समयमै उपयोग गरेर राम्रो नतिजा निकाल्न खेलकुद मन्त्रीको ध्यान जानु आवश्यक छ । अन्य प्रदेशको तुलनामा बागमतीले विगतदेखि नै खेल क्षेत्रलाई प्राथमिकता दिँदै आएको पाइन्छ । अहिलेको अवस्थामा प्रदेश सरकारसँग पर्याप्त बजेटका लागि आवश्यक पहल गर्दै खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर समयमै योजना तथा कार्यक्रम सम्पन्न गर्नु उचित हुनेछ ।