हेटौँडाः बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, रसुवा र सिन्धुली जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका–६, शनेश्चरीमाईमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको माडि नगरपालिका–८, का ४४ वर्षीय चित्र बहादुर विक रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा शनेश्चरीमाईमा पानी खाने क्रममा विक एक्कासि बेहोस भएका थिए । विकलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा साँझ ५ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२५, शिवालय चोकमा अचेत अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्लाको मनकामना गाउँपालिका–३, घरभई हाल शिवालय चोक बस्ने ३२ वर्षीय सिमन थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार मगर खानखाई सुतेकोमा राती ११ बजेर ३० मिनेटको समयमा अचेत अवस्थामा फेला परेका थिए । मगरलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६, भिमलीमा बाटोबाट खोलामा खस्दा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय छेसावाङ्दी तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार राती ७ बजेको समयमा तामाङ सोलेबाट बोकेझुण्डा फर्कने क्रममा टोले लेन्जुङ खोला सोले स्थित पासाङ ल्हामु सडकबाट १५ मिटर तल खोलामा खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुलीको मरिण गाउँपालिका–२, सखौरीमा मोटरसाइकल अनियन्त्रीत भई पल्टँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । गत पुष २९ गते बिहान ८ बजेको समयमा मदनभण्डारी राजमार्गमा हेटौडाबाट सिन्धुली तर्फ जाँदै गरेको प्र २–०२–००३ प ९०८३ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक मरिण गाउँपालिका–२, का ३८ वर्षीय तारा पुलामी मगर, पछाडी सवार ३७ वर्षीय राम बहादुर ठाडा मगर र ४२ वर्षीय चित्र बहादुर माझी घाइते भएका थिए । घाइते तिनै जनाको प्राथामिक स्वाथ्यकेन्द्र कपिलाकोटमा सामान्य उपचार पश्चात थप उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा मोटरसाइकलमा सवार राम बहादुर ठाडा मगरको अन्नपुर्ण न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ ६ बजेर ४० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।