हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, दासढुङ्गामा ट्रक र बोलेरो एक आपसमा ठोकिँदा बोलेरोमा सवार एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका ११ बजेर ४० मिनेटको समयमा नारायणघाट मुग्लिङ सडक खण्डमा पोखराबाट नवलपरासी तर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २५२४ नम्बरको खालि ट्रक र चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा प्र ०१–०३१ च ०११३ नम्बरको कुखुरा बोकेको बोलेरो एक आपसमा ठोकिएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनाममा बोलेरो चालक जिल्ला दोलखाका २६ वर्षीय राम तामाङ र बोलेरोमा सवार उदयपुरका ३६ वर्षीय भिम कटुवाल गम्भिर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको थियो । बोलेरोमा सवार भिम कटुवालको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–६, का २४ वर्षीय संतोष चौधरीलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।