हेटौँडाः बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले २ जिल्लाको खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद परिषद्ले रसुवा र ललितपुरको खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको हो ।
परिषद्का सदस्य–सचिव दीपक लामाले जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्षमा विराज लोप्चनलाई नियुक्त गर्नुभएको छ भने ललितपुरको अध्यक्षमा विनोद महर्जनलाई नियुक्त गर्नुभएको छ । फुटबल खेलमा आवद्ध लोप्चन एमालेको कोटाबाट जिल्ला खेलकुद विकास समिति दोलखाको अध्यक्ष बन्नुभएको हो भने कराँतेका महर्जन कांग्रेसको कोटामा ललितपुर अध्यक्ष बन्नुभएको हो । महर्जन दोस्रो कार्यकालका लागि अध्यक्ष नियुक्त हुनुभएको हो । यसअघि २०७८ चैतमा महर्जन पहिलो कार्यकालका लागि अध्यक्ष नियुक्त हुनुभएको थियो । २ वर्षे कार्यकाल रहेका बेला उहाँ नियुक्त हुनुभएका उहाँलाई पूनः अध्यक्ष पदमा नियुक्त गरिएको हो । हाल जिल्ला खेलकुद विका समितिको कार्यकाल ४ वर्ष कायम गरिएको छ ।
सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले खेलकुद विकास समितिको अध्यक्ष नियुक्तीको निर्णय गरेको हो । प्रदेश खेलकुद विकास परिषद् ऐनको व्यवस्था अनुुसार बोर्ड बैठकले गरेको निर्णयका आधारमा सदस्य–सचिवले समितिका अध्यक्षहरु नियुक्त प्रदान गर्न सक्ने प्रावधान रहेको छ । प्रदेशका १३ मध्ये ५ जिल्लाको खेलकुद विकास समितिको अध्यक्ष भने नियुक्त हुन बाँकी रहेको छ । सत्ता साझेदार दलबीच सहमति गरेर दोलखा, रामेछाप, भक्तपुर, चितवन र नुवाकोटको अध्यक्ष नियुक्त गर्ने तयारी भइरहेको सदस्य–सचिव लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य जिल्लाको अध्यक्ष भने यसअघि नै नियुक्त भइसेकको छ । गत असार १४ मा तत्कालिन सदस्य–सचिव सूर्यलाल भण्डारीले मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोकको अध्यक्ष नियुक्त गर्नुभएको थियो । सत्तारुढ दल माओवादी केन्द्रबाट ४ र नेकपा एकीकृत समाजवादीबाट २ जनालाई अध्यक्ष पदमा नियुक्त गरिएको थियो । राजनीतिक भागबण्डाका आधारमा माओवादी केन्द्रले मकवानपुर, धादिङ, काभ्रे र सिन्धुपाल्चोकको अध्यक्ष लिएको थियो भने एकीकृत समाजवादीले सिन्धुली र काठमाडौंमा नियुक्ति लिएको थियो । काठमाडौंमा सानुभाइ बलामी, सिन्धुपाल्चोकमा रामकृष्ण दंगाल, काभ्रेमा मानवीर वाइवा, मकवानपुरमा राज मोक्तान, धादिङमा प्रतापसिं तामाङ र सिन्धुलीको अध्यक्षमा वीरबहादुर थिङ नियुक्त भएका थिए ।