जिल्ला प्रशासन कार्यालय मकवानपुर ।

हेटौँडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिपावली, नेपाल सम्वत् ११४५, छठ लगायतका राष्ट्रिय पर्वको शुभकामनासहित पर्वहरु शान्तिपूर्ण एवं सौहार्दपूर्ण वातावरणमा मनाउन अनुरोध गरेको छ । पर्वका समयमा जिल्लाभित्र शान्ति सुरक्षालाई प्रभावकारी तुल्याउन व्यापक रूपमा सुरक्षाकर्मी टोल/समुदाय क्षेत्रमा परिचालन गरिएकोले शान्तिपूर्ण एवं सौहार्दपूर्ण वातावरणमा चाडपर्व मनाउन शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट भएको निर्णय अनुसार मंगलबार विज्ञप्ति जारी गरिएको छ ।

प्रशासन कार्यालयले देउसी तथा भैलो लगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राती ९ बजेसम्म मात्र सञ्चालन गर्न, पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील, जुवा/तास/लंगुरबुर्जा खेल्ने खेलाउने जस्ता क्रियाकलापहरू नगर्न समेत अनुरोध गरेको छ । आइतबारको नेपाल राजपत्र अनुसार नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाएकोले विक्री वितरण नर्गन समेत अनुरोध गरेको छ । विक्री वितरण गरेको पाइएमा प्रचलित कानून कानून बमोजिम कारबाही हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रशासन कार्यालयले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, निजी तथा संगठित संस्थामा आबद्ध पदाधिकारी एवम् कर्मचारी, सञ्चारकर्मी तथा समस्त मकवानपुर जिल्लावासीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि जिल्ला प्रशासन कार्यालय, मकवानपुर परिवार शुभकामना समेत व्यक्त गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचना ।