राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताबारे जानकारी गराउनुहुँदै अध्यक्ष तितुङ (बीचमा) ।

हेटौँडाः आगामी मंसिर ४ गतेबाट हेटौँडाको नागस्वतीमा राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा तेस्रो संस्करणको राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताबारे शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा २० वटा भेट्रान्स क्लबहरुको सहभागिता रहने अपेक्षा गरिएको क्लबका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिनुभयो । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गरिने ८ ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल मंसिर ८ गते हुनेछ । प्रतियोगितामा ४० वर्ष पूरा भएका खेलाडीहरु मात्रै सहभागी हुन पाउने छन् ।

प्रतियोगिताको विजेताले २ लाख एक हजार रुपैयाँ र उपविजेताले १ लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने अध्यक्ष तितुङले जानकारी दिनुभएको छ । प्रतियोगिताका सर्वाधिक गोलकर्ता, फरवार्ड, गोलकिपर, डिफेन्स र टिम कोचलाई जनही पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिता आयोजना गर्न १९ लाख १२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष तितुङले बताउनुभयो । यसअघि आयोजना गरिएको पहिलो र दोस्रो संस्करणको प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्सले जितेको थियो ।