कमाने एकेडेमीको अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य प्रस्तुत गर्दै विद्यार्थी । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीले खेलकुद कार्यक्रम गर्ने भएको छ । आउँदो सोमबारदेखि बुधबारसम्म कमाने एकडेमीले हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा वार्षिक खेलकुद कार्यक्रम गर्न लागेको हो ।

खेलकुद कार्यक्रम अन्तर्गत एथ्लेटिक्स, टेबलटेनिस, फुटबल, बास्केटबल, बुद्धिचाल र व्याडमिन्टन लगायतका खेलहरु हुने कमाने एकेडेमीका खेलकुद संयोजक नवीन कठायतले जानकारी दिनुभएको छ । कमाने एकेडेमीले आयोजना गर्न लागेको खेलकुदमा कक्षा–१ देखि कक्षा–१० सम्मका निलो, कलेजी, पहेँलो र हरियो सदनका विद्यार्थीबीच प्रतिस्पर्धा हुने खेलकुद संयोजक नवीन कठायतले बताउनुभयो ।

विद्यार्थीलाई पढाई सँग–सँगै मनोरञ्जन गराउन, उनीहरुको रुचि, क्षमतालाई प्रदर्शन गर्ने र खेलकुदको महत्वबारे बुझाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा मार्चपास, पिटीमा खुकुरी नृत्य, एरोबिक्स पिटी र तेक्वान्दो काता प्रदर्शनी हुने उहाँको भनाई छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सदनले क्रमशः स्वर्ण, रजत र काँस्यपदक सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै बढी अंक प्राप्त गर्ने सदनले रनिङ शिल्डको ट्रफी प्राप्त गर्नेछन् । कमाने एकेडेमीले २ वर्षदेखि खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको छ ।