पूर्वविद्यार्थी भेलालाई सम्बोधन गर्नुहुँदै संयोजक सुरेश श्रेष्ठ ।

हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थीको भेला बिहिबार सम्पन्न भएको छ । तदर्थ समितिका संयोजक सुरेश श्रेष्ठको अध्यक्षतामा भएको भेलाले श्रेष्ठकै अध्यक्षतामा ९ सदस्यीय समितिलाई पूर्णता दिएको छ । यसअघि गत पुस महिनामा भएको पूर्वविद्यार्थीको भेलाले श्रेष्ठको संयोजकत्वमा पूर्वविद्यार्थी समाज गठन गरेको थियो । बिहिबारको भेलाले पूर्वविद्यार्थी समाजको विधान समेत अनुमोदन गरेको छ ।

पूर्वविद्यार्थी समाजको विधानमा समितिको कार्यकाल एक वर्षको हुने, उपाध्यक्ष अर्को कार्यकालका स्वतः अध्यक्ष हुने, सदस्यताका लागि कुनै किसिमको शूल्क नलाग्ने जस्ता व्यवस्था गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । यस्तै पूर्वविद्यार्थीको परिभाषामा एक शैक्षिक सत्र पूरा गरेका सबै विद्यार्थी पूर्वविद्यार्थीको रुपमा एकीकृत गरिने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । पछिल्ला समय विद्यालयको भौतिक र शैक्षिक दुबै पक्षमा उल्लेखनीय प्रगति भइरहेको र पूर्वविद्यार्थीले त्यसलाई अझ सहयोग पुग्ने काम गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पूर्वविद्यार्थीको भेलामा सहभागीले विद्यालयको समग्र विकासमा आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पूर्वविद्यार्थी भेलालाई सम्बोधन गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले विद्यालयको अवस्थाका बारेमा जानकारी दिनुभएको छ । सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास जित्ने प्रयास भइरहेको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक दाहालले भन्नुभयो, “हामीले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सक्दो सहयोग गरेका छौं । पूर्वविद्यार्थीले विद्यालयको अवस्थालाई बुझेर राम्रा कुराको प्रचार गरिदिन र सुधार गर्नुपर्ने पक्षमा सुझाव दिनुहुन अनुरोध गर्दछु ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीले आफू पनि पूर्वविद्यार्थी नै भएको र विद्यालयको सुधारका लागि सक्दो प्रयास गरिरहेको बताउनुभयो । विद्यालयको भौतिक विकासमा सक्दो प्रयास गरिरहेको, शिक्षक, कर्मचारीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सक्दो प्रयास गरिरहुनभएको र सकारात्मक नतीजा पनि देखिँदै आएको अध्यक्ष कार्कीको भनाइ छ । पूर्वविद्यालयको साथ र सहयोग रहँदै आएको र सबै पूर्वविद्यार्थीलाई समावेश गराउँदै अगाडि बढ्न विद्यालयकै पहलमा पूर्वविद्यार्थी समाज गठन भएको उहाँले जानकारी दिनुभयो । पूर्वविद्यार्थीहरुले आगामी दिनमा विद्यालयको शैक्षिक सुधारका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।