सहकारीका ज्येष्ठ सदस्यलाई सम्मान गरिँदै ।

हेटौंडाः हेटौंडा–२ स्थित नमुना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार संस्थाका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् संस्थाका सल्लाहकार डोरमणि पौडेलको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । चालु आर्थिक वर्षसम्म संस्थाको कुल सम्पत्ति ४२ करोड ४ लाख ५६ हजार ८ सय ९४ रुपैयाँ रहेको उहाँले बताउनुभयो । यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म संस्थामा २ हजार ५ सय ९२ जना सेयर सदस्यको २ करोड ८५ लाख ६३ हजार रुपैयाँ छ । जसमा २९ करोड ९० लाख रुपैयाँ ऋण लगानी रहेको छ ।

संस्थाले साधारणसभाको अवसरमा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान गरेको छ । यस्तै, संस्थाले जेष्ठ सदस्य सम्मानबाट हरिप्रसाद सिग्देल र गोमादेवी भण्डारीलाई सम्मान गरेको छ । उत्कृष्ट मासिक बचतकर्ताहरु मीनबहादुर प्रधान र प्रतिभा लम्साल, उत्कृष्ट ऋणी चिन्तालक्ष्मी अधिकारी, शर्मिला थापा, विष्णुप्रसाद पराजुली र वीरबहादुर न्यासुरलाई सम्मान गरिएको छ । यस्तै, उत्कृष्ट व्यवसायी सदस्य सम्मानबाट सीताराम तिमल्सिना, उत्कृष्ट बाल बचतकर्ताहरु अनुष्मा रिमाल र सिर्जना खतिवडालाई सम्मान गरिएको छ ।

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका प्रशन्न चौलागाईं, निजी विद्यालयका स्पन्दन दाहाल, प्रतिष्ठा कार्की, कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने निश्चित घिमिरे र पूर्णिमा सञ्जेल, स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउने आदर्श लामिछाने, विपना चौलागाई, प्रमिशा पौडेल र सुस्मित तिमल्सिना तथा स्नातकोत्तर तहकी आष्मा शर्मा पौडललाई सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य विदुर हुमागाई र जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष मीनाकुमारी चौरेललगायतको आतिथ्य रहेको थियो ।