हेटौँडाः हेटौँडा–८, कमानेमा जारी प्रथम संस्करणको वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार पहिलो चरणको ४ खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो । हेटौँडा–८ कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा वडा–४, दोस्रो खेलमा वडा–११, तेस्रो खेलमा वडा–१९ र चौथो खेलमा वडा–१० विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
वडा–४ ले वडा–१ लाई ६६ रनले, वडा–११ ले वडा–५ ‘बी’ लाई ७३ रनले हराउँदै, तेस्रो खेलमा हेटौंडा–६ लाई ५३ रनले हराउँदै हेटौँडा–१९ र चौथो खेलमा हेटौंडा–१० ले हेटौंडा–१२ लाई ७४ रनले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको वडा–४ ले १४ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । वडा–४ बाट गौरव खड्काले सर्वाधिक ८९ रन बनाएका थिए । तक्षक सिम्खडाले २२ रन जोड्न सफल भएका थिए । प्रमित कोइरालाले १६ रन र मनिष सुवेदीले १५ रन बनाएका थिए । बलिङतर्फ वडा–१ बाट शिषिर पौडेलले सर्वाधिक ४ विकेट लिएका थिए भने योगेश कार्कीले २ विकेट लिएका थिए ।
१ सय ७५ रनको लक्ष्य पछ्याएको वडा–१ १७ ओभर ५ बलमा १ सय ८ रन बनाएर अल आउट हुन पुग्यो । वडा १ का आकाश शर्माले २५ रन बनाए । सुजल कार्की र योगेश कार्कीले समान २०–२० जोडेका थिए । यस्तै अंकित अधिकारीले १४ रनको योग्दान दिएका थिए । बलिङतर्फ वडा–४ का शिषिर पौडेलले सर्वाधिक ५ विकेट लिन सफल भए । मनिष सुवेदी र सन्तोष तिमल्सिनाले २–२ विकेट लिएका थिए । म्यान अफ द म्याच शिषिर पौडेल घोषित भए ।
दोस्रो खेलमा टस जितेर पहिले व्याटिङ गरेको वडा–११ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । वडा–११ का असिम श्रेष्ठले सर्वाधिक १०२ रन बनाउन सफल भए । सुजित खनालले ३० रन र हिमाल राईले १३ रन बनाएका थिए । बलिङतर्फ वडा–५ बी अर्जल मानन्धरले २ विकेट लिएका थिए । जवाफी व्याटिङ गरेको वडा–५ ‘बी’ १७ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन मात्र बनाउन सफल भयो । शिषिर सापकोटाले ४७ रन बनाउन सफल भएका थिए । यस्तै विनित गिरीले १० बनाए । बलिङतर्फ वडा–११ बाट सुजित खनालले ३ विकेट लिए । आभाष थापाले २ विकेट लिए । म्यान अफ द म्याच असिम श्रेष्ठ घोषित भएका छन् ।
मंगलबारको तेस्रो खेलमा हेटौँडा–१९ ले हेटौंडा–६ लाई ५३ रनले हरायो । टस जितेर पहिले व्याटिङ गरेको हेटौंडा–१९ ले १३ ओभरमा सबै विकेट गुमाएर १०३ रन जोडेको थियो । हेटौंडा–१९ बाट विशेष थापाले सर्वाधिक ३८ रन बनाए । यस्तै सुमन सुनारले १७ रन र रोहन सिन्तानले १३ बनाए । बलिङतर्फ हेटौंडा–६ बाट नवीन पौडेलले ३ र सुपेन्द्र तिवारीले २ विकेट लिए । जवाफी व्याटिङ गरेको हेटौंडा–६ ले १२ ओभर ३ बलमा सबै विकेट गुमाएर ५० रन मात्र जोड्न सफल भयो । दिपेश बलामीले १७ रन र सुपेन्द्र तिवारीले १३ रन जोडे । बलिङतर्फ विशेष थापाले सर्वाधिक ३ विकेट लिएका थिए । म्यान अफ द म्याच विशेष थापा घोषित भए ।
यस्तै चौथो खेलमा हेटौंडा–१० ले हेटौंडा–१२ लाई ७४ रनले हराउँदै विजयी भयो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको हेटौंडा–१० ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १० रन बनाएको थियो । हेटौंडा–१० का लागि पारथ विष्टले ६९ रन बनाएका थिए । नितेश बज्राचार्यले ४८ रन बनाए । बलिङतर्फ हेटौँडा–१२ का सुसन क्षेत्रीले २ विकेट लिए । २११ रनको विशाल लक्ष्य पछ्याएको हेटौँडा–१२ ले १८ ओभर ३ बलमा १० विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सफल भयो । सुसन क्षेत्रीले ७३ रन बनाएका थिए । यस्तै समीर गौतमले ३१ रन, विवेक खनालले २९ रन र सुमित श्रेष्ठले १८ रन बनाए ।
बुधबारबाट क्वार्टरफाइनल चरणको खेलहरु सुरु हुनेछ । पहिलो खेलमा आयोजक र हेटौँडा–४ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा हेटौँडा–९ र हेटौँडा–७ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेलमा हेटौँडा–८ र हेटौंडा–१६ बीच प्रतिस्पर्धा हुनेछ ।
नेकपा एमाले ८ नम्बर वडा कमिटीको सहयोग तथा नेपाल खेलकुद महासंंघ वडा कमिटीको आयोजनामा प्रतियोगिता भएको हो । धर्मराज पुडासैनीको संयोजकत्वमा भएको प्रतियोगितामा १९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट मार्चपास गर्ने टिमहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । लामो सयमदेखि खेलक्षेत्रमा योग्दान पु¥याउने व्यक्तिलाई सम्मान गरिने छ । प्रतियोगिता आयोजनाका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।