विद्यार्थीलाई पुरस्कार वितरण गर्नुहुँदै प्रधानाध्यापक सञ्जेल ।

हेटौँडाः हेटौँडा–१५, रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले शुक्रबारे कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । गएको दुईवटा शुक्रबार विद्यालयमा भएको कार्यक्रममा सहभागी भई उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक केशवप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।

गएको शुक्रबार शिक्षा दिवसको अवसरमा विद्यालयमा कक्षा ८, ९ र १० का विद्यार्थीले विज्ञान प्रदर्शनी गरेका थिए । सदनगत भएको प्रतियोगितामा ४ समुहको सहभागिता रहेको थियो । यस्तै ४ कक्षादेखि ७ कक्षासम्मका विद्यार्थीको नेपाली सुन्दर लेखन प्रतियोगिता आयोजना गरिएको थियो । कक्षागतरुपमा भएको प्रतियोगितामा सबै विद्यार्थी सहभागी रहेको प्रधानाध्यापक सञ्जेलले बताउनुभयो ।

अघिल्लो साताको शुक्रबार पनि विद्यालयमा नृत्य र गायन प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा ४ सदनबाट ६ टोली सहभागी भएका थिए । प्रतियोगिता तथा विभिन्न कार्यक्रममा सहभागी भई उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीले पुरस्कारस्वरुप शैक्षिक सामग्री प्राप्त गरेका छन् । विद्यार्थीको रचनात्मक र सृजनात्मक सीपको विकास गर्न हरेक साताको शुक्रबार विभिन्न प्रतियोगिता आयोजना गरी विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएको प्रधानाध्यापक सञ्जेल बताउनुहुन्छ । यस्ता क्रियाकलापले विद्यार्थीमा प्रतिस्पर्धाको भावना जागृत हुने र विद्यार्थीले मिहिनेत गर्न प्रेरित हुने प्रधानाध्यापक सञ्जेलले बताउनुभयो ।