हेटौँडाः झापाको पूर्वेली भेट्रान्स क्लब हेटौंडामा जारी तेस्रो संस्करणको राष्ट्रिय रोटरी मकवानपुर पिप्ले क्याम्पा रंगशाला भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनलम खेलमा जीतपुर–सिमरा उपमहानगरपालिकाको नवजनजागृति भेट्रान्स सिमरालाई १–० गोलले हराउँदै झापाको पूर्वेली भेट्रान्स फाइनलमा प्रवेश गरेको हो ।
रमेश गुरुङ्गको निर्णायक गोलमा पूर्वेली भेट्रान्स प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको हो । म्यान अफ द म्याच निर्णायक गोलकर्ता गुरुङ्ग घोषित भएका छन् । दोस्रो सेमीफाइनल खेल सोमबार हुनेछ । दोस्रो सेमीफाइनलमा काठमाडौंको फ्रिडम फाइटर भेट्रान्स र सर्लाहीको हरिवन भेट्रान्सबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ । वर्षाका कारण खेल प्रभावित भएका कारण फाइनल खेल एक दिन पछि सरेको हो । यसअघि आयोजकले सोमबार फाइनल खेल खेलाउने तालिका सार्वजनिक गरेको थियो ।
प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ र उपविजेता टिमले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोकृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ, सर्वोकृष्ट खेलाडीले ५ हजार रुपैयाँ, सर्वोकृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर र फरर्वाडले ५–५ हजार रुपैयाँ नगद राशि प्राप्त गर्नेछन् ।