हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघले रेफ्रीलाई कुटपिट गर्ने ८ जना खेलाडीलाई कारबाही गरेको छ । जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार एफसी मल्टिभिजन र एफसी नामटारबीचको खेलको क्रममा रेफ्रीलाई कुटपिट गरेर अभद्र व्यवहार गर्ने एफसी नामटारका खेलाडीलाई फुटबल संघले कारबाही गरेको हो ।

प्रतियोगिता सञ्चालनको क्रममा प्लेयर बक्समा बल आउट गएको कारणले रेफ्री विक्रम राईले मल्टिभिजनलाई थ्रो दिँदा नामटारका ८ जना खेलाडीले रेफ्रीमाथि कुटपिट गरेका थिए । रेफ्री राई माथि कुटपिट गर्ने खेलाडीलाई कारबाही गर्न माग गर्दै रेफ्रीहरुले संघलाई निवेदन दिएका थिए । संघले क्लबलाई पनि १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

रेफ्रीलाई कुटपिट गर्ने एफसी नामटारका क्याप्टेन समीर बर्तौलासहित अर्का खेलाडी सञ्जीव भोम्जनलाई ३ वर्षका प्रतिवन्ध गर्ने निर्णय गरिएको छ । विशाल वाईबा र सूर्य थिङलाई २ वर्ष प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यस्तै मञ्जिल मोक्तान, शंकर स्याङ्तान र अमीर मोक्तानलाई भने जारी लिगको समूह चरणको २ खेलमा प्रतिवन्ध लगाउने निर्णय गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताउनुभयो । खेलाडीको कुटपिटबाट रेफ्री बिक्रम राई सामान्य घाइते हुनुभएको छ ।