हेटौँडाः मकवानपुरमा पहिलो पटक जिल्लास्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र छहारी युवा समाज हेटौँडाको आयोजना तथा हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल माविको मुख्य प्रायोजनमा प्रतियोगिता हुने भएको हो ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको छ । हेटौँडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा १० टिम सहभागी हुने आयोजकको अनुमान छ । प्रतियोगिताको खेलतालिका असोज २ गते सार्वजनिक हुने आयोजकले जनाएको छ ।

असोज ३ गतेदेखि ५ गतेसम्म हुने प्रतियोगिताको विजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक पुष्प मैनाली, तुलसीमेहर विद्यालयका प्राचार्य रघुनाथ खराल र आयोजक समितिका सदस्य मनोज लामालगायतको उपस्थिति रहेको थियो ।