हेटौँडाः बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईंले गत आर्थिक वर्ष २०८०/०८१ मा ८५ लाख ४ हजार रुपैयाँ खर्च गरेका छन् । प्रदेश सरकारले गत आर्थिक वर्षका लागि विभिन्न शीर्षकअन्तर्गत १ करोड २३ लाख रुपैयाँ विनियोजन गरेकोमा ८५ लाख ४ हजार रुपैयाँ खर्च गरेको हो ।

प्रदेशसभाका सभामुख पाठक र उपसभामुख चापागाईंले एक आर्थिक वर्षमा सबैभन्दा बढी क्रमशः तलब, इन्धन, सवारी मर्मत र भ्रमण भत्तामा खर्च गरेका छन् । सभामुख पाठक र उपसभामुख चापागाईंले सवारी मर्मततर्फ ५ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् भने इन्धन सुविधाअन्तर्गत ५ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ । सो शीर्षकहरुअन्तर्गत प्रदेश सरकारले क्रमशः १२ लाख रुपैयाँ र १० लाख ८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सभामुख र उपसभामुखले भ्रमण खर्चबापत ४ लाख ५६ हजार रुपैयाँ खर्च गरेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि असारसम्मको अवधिमा विभिन्न क्षेत्रको भ्रमणवापत सभामुख पाठक र उपसभामुख चापागाईंले ४ लाख ५६ हजार रुपैयाँ खर्च गरेका हुन् । सभामुख पाठक र उपसभामुख चापागाईंसहित उनीहरुको सचिवालयले उक्त रकम खर्च गरेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । सभामुख र उपसभामुखले विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्चअन्तर्गत विनियोजित बजेटमध्ये सो रकम खर्च गरेको हो । गत आर्थिक वर्षका लागि प्रदेश सरकारबाट सो शीर्षकमा १८ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

पानी तथा बत्ती सुविधाअन्तर्गत विनियोजित २ लाख ७० हजार रुपैयाँ शतप्रतिशत खर्च भएको छ । सभामुख पाठक र उपसभामुख चापागाईंको पारिश्रमिकवापत १५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । सो शीर्षकअन्तर्गत प्रदेश सरकारले गत आर्थिक वर्षमा १५ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको थियो । सभामुख पाठक र उपसभामुख चापागार्ईंले अन्य सुविधाअन्तर्गत प्राप्त ५५ लाख ३८ हजार रुपैयाँमध्ये ४९ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ भने विविध शीर्षकमा प्राप्त ४ लाख १ हजार रुपैयाँमध्ये २ लाख २३ हजार रुपैयाँ खर्च भएको छ । सभामुख पाठक र उपसभामुख चापागाईंले पोशाक, महंगी भत्ता र बैठक भत्ता बुझेका छैनन् । प्रदेश सरकारले सो शीर्षकअन्तर्गत क्रमशः १ लाख १० हजार रुपैयाँ, २ लाख ६४ हजार रुपैयाँ र १ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको थियो ।