हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक बिहिबार बिहान ८ बजे बस्दैछ । व्यवसायीसँगको सम्झौतासँगै नगरसभाका बहुमत सदस्यले माग गरेको विशेष नगरसभा आव्हान गर्ने गरी उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न थालेको बताइएको छ । बिहिबार बिहान ८ बजेका लागि कार्यपालिका बैठक बोलाइएको एक वडाअध्यक्षले जानकारी दिनुभएको छ ।

चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले जारी गरेको आर्थिक ऐनमा अस्वभाविकरुपमा राजश्वको दर वृद्धि गरिएको, राजश्वको दर वृद्धि गर्ने प्रक्रियामा नगरप्रमुख र उपप्रमुखले गैरजिम्मेवार भएर दफावार छलफल नै नगराएको भनी नगरसभा सदस्यहरु रुष्ट छन् । व्यवसायी समेत विरोधमा उत्रिएपछि अन्ततः नगरप्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँ विशेष नगरसभा बोलाउन सहमत भएका हुन् ।

सहमति गरेर पनि विशेष नगरसभा आव्हानमा उपमहानगर उदासिन बनेको भन्दै व्यवसायी अर्को चरणको आन्दोलनको घोषणाको तयारीमा समेत जुटेको सन्दर्भमा कार्यपालिका बैठकको आव्हान भएको छ ।