हेटौंडाः नेपाल विद्युत् प्राधिकरणको ३९ औं वार्षिक उत्सव सम्पन्न भएको छ । प्राधिकरणको बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले विविध कार्यक्रम गरेर वार्षिक उत्सव सम्पन्न गरेको हो ।

शनिबार प्राधिकरणको प्रदेश डिभिजन कार्यालय हेटौंडाका प्रमुख मनोज कुमारको सभाध्यक्षमा ३९ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमअन्तर्गत साउन १५ गते वृक्षरोपण कार्यक्रम भएको थियो । साउन १९ र २० गते व्याडमिन्टन प्रतियोगिता गरिएको थियो । साउन २५ गते वृहत् रक्तदान कार्यक्रम गरिएको थियो भने साउन २५ र २६ गते बुद्धिचाल तथा क्यारेमबोर्ड प्रतियोगिता भएको थियो ।

वार्षिक उत्सव समापन कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत भरत भण्डारीले जानकारी दिनुभएको छ । सो अवसरमा रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरेको प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । यस्तै, वार्षिक उत्सवकै अवसरमा प्राधिकरणका कर्मचारीहरुबीच चम्चा–गुच्चा दौंड, म्युजिकल चेयर र घैंटो फुटाउने प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा विजेता बन्नेहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ भने वितरण केन्द्रहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा कुलेखानी जलविद्युत् केन्द्र र डिभिजन कार्यालयअन्तर्गतका प्रमुखहरुको उपस्थिति रहेको थियो ।