हेटौंडाः प्रणामी व्यवसायी संघ नेपालले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच मकवानपुरको मकवानपुगढी गाउँपालिका–६ स्थित बालज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।
संघ मकवानपुर शाखाका सचिव राजेश वाग्लेका अनुसार ४० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई १ दर्जन कापी, १ दर्जन कलम, १ दर्जन इरेजर र १ दर्जन साइनपेन वितरण गरिएको छ । संघका संस्थापक अध्यक्ष विष्णुप्रसाद वाग्लेको सभाध्यक्ष तथा मकवानपुरगढी वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद चौलागाईको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण कार्यक्रम भएको हो ।
संघको ९ जिल्लामा शाखाहरु रहेका छन् । संघले संघमा आवद्धहरुलाई रोजगारी प्रदान गर्ने गरी विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको जिल्ला सचिव वाग्लेले बताउनुभयो ।