हेटौंडाः हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले सिद्धार्थ तेक्वान्दो डोजाङलाई खेलकुद सामग्री सहयोग गरेको छ । शुक्रबार एक समारोहका बिच डोजाङका प्रमुख युसुफ हुसेनलाई हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनले तेक्वान्दो खेल सामग्री हस्तान्तरण गर्नुभएको हो ।
मकवानपुर जिल्ला तेक्वान्दो संघको पहलमा डोजाङका प्रमुख हुसेनलाई ६० हजार रुपैयाँ बराबरको सामग्री वडा कार्यालयले सहयोग गरेको छ । २ नम्बर वडाको खेलकुद क्षेत्रको विकासलाई मध्यनजर गरेर चेस्टप्याड, किकिङ प्याड, हेडगार्ड, ग्लोइङ कभर, किक प्याड र सिर्नगार्ड सहयोग गरेको हो ।
वडाका खेलाडीहरुलाई प्रशिक्षणमा सहयोग गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिको खेलाडी बनाउनका लागि सामग्री सहयोग गरेकोमा संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले खुशी व्यक्त गर्नुभयो । वडालाई खेलकुदमय बनाउने, स्वस्थ बनाउने, कुलतबाट टाढा राख्न नियमितरुपमा प्रशिक्षण दिँदै आउने उहाँले बताउनुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा वडा सदस्य सुरज बर्तौला, संघका उपाध्यक्ष उमकुमार लामा, संघका नगर अध्यक्ष सुरासा ढुंगाना र सदस्य गोपाल सुनारको उपस्थिति रहेको थियो ।