हेटौंडाः यु–१७ को प्रारम्भिक सूचीमा मकवानपुरका २४ जना खेलाडीहरु पर्न सफल भएका छन् । हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा शुक्रबार र शनिबार भएको छनोट प्रतियोगितापछि मकवानपुरका २४ जना खेलाडीहरु प्रारम्भिक सूचीमा पर्न सफल भएका हुन् ।
मकवानपुर जिल्ला फुटबल संघले छनोट भएका खेलाडीहरुको नाम फेसबुक पेजमार्फत् सार्वजानिक गरेको हो । छनोट प्रतियोगिताको पहिलो दिन जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकाबाट करिब १ सय सय ८७ जना खेलाडीहरु सहभागी भएको संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक युवराज लामाले जानकारी दिनुभएको छ । संघले दोस्रो चरणमा छनोटमा ५२ जनाको नाम सार्वजानिक गरेर अन्तिम चरणको प्रारम्भिक सूचीमा २४ जना किशोर खेलाडीहरुलाई समावेश गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १७ वर्ष उमेर समूहका खेलाडीहरुलाई एसियन क्यालिफाइ फुटबल प्रतियोगितामा सहभागी गराउनका खेलाडी छनोट गर्न निर्देशन दिएको हो । एन्फाले ४८ जिल्लाको फुटबल संघहरुलाई टिम छनोट गर्ने निर्देशन दिएको बताइएको छ । जिल्लाबाट छनोट भएका खेलाडीहरुले प्रदेशस्तरीय छनोटमा सहभागी भएर प्रदेशका १३ जिल्लाका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
छनोट हुनेमा बकैया गाउँपालिकाबाट विकास जिम्बा, निशान्त बोगटी, कृतक स्याङ्तान र सन्देश घलान छन् । मकवानपुरगढी गाउँपालिकाका करिप योञ्जन, अनुप राना, कोसिस मगरर रोहित मोक्तान छनोटमा परेका छन् । बागमती गाउँपालिकाबाट उप्रान्त आले र विकल राना छनोट भएका छन् । यस्तै, थाहा नगरपालिकाका प्रभात परियार छनोट भएका छन् ।
हेटौंडा–८ का प्रमित खत्री र देवलाल भोलन, हेटौंडा–१५ का निमा लोप्चन, हेटौंडा–१७ का विशेष सुवेदी, हेटौंडा–५ का आर्यन थापा मगर, हेटौंडा–७ का कुशल अधिकारी र सुजन थिङ छनोट भएका छन् । हेटौंडा–१८ का साजन लोप्चन, हेटौंडा–१४ का रोहन तामाङ, हेटौंडा–१३ का सृजन थिङ, इममी मोक्तान र सनम वाईबा प्रदेशका लागि छनोट भएका छन् । हेटौंडाकै अर्जुन सापकोटा पनि छनोटमा परेका छन् ।
थाहा नगरपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिकालगायतका ठाउँहरुबाट फुटबल खेलमा रुचि हुने खेलाडीहरु छनोट प्रतियोगितामा सहभागी हुन आएको संयोजक लामाले बताउनुभयो ।
प्रदेशबाट छनोट हुने किशोर खेलाडीहरुले एन्फाले आयोजना गर्ने केन्द्रीयस्तरको छनोट प्रतियोगितामा सहभागी हुँदै यु–१७ क्वालिफाइ फुटबल प्रतियोगितामा सहभागी जनाउन पाउने छन् । मकवानपुर जिल्लाका एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठ र ज्ञानु मोक्तानको नेतृत्वमा खेलाडीहरु छनोट गरिएको हो । प्रदेशको छनोट प्रतियोगिता आज सोमबारबाट शनिबारसम्म हुनेछ भने केन्द्रीयस्तरको छनोट प्रतियोगिता साउन २२ गतेदेखि ३२ गतेसम्म हुने एन्फाले जनाएको छ ।
केन्द्रीयस्तरबाट छनोटमा पर्न सफल हुने खेलाडीहरुले असोज २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन पाउनेछन् । जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी गराउनका लागि सोमबार जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा बिदाई गरिनेछ । प्रदेशस्तरीय छनोट प्रतियोगिता धुलिखेलमा हुनेछ । प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीहरुले खान र बस्नका लागि खर्च आफैँले व्यहोर्नुपर्नेछ ।