हेटौँडाः राहत शिक्षक समिति मकवानपुरको अध्यक्षमा धनराज फुयाँल चयन हुनुभएको छ । शुक्रबार भएको समितिको बैठकबाट फुयाँलले अध्यक्षको जिम्मेवारी पाउनुभएको हो ।
समितिका अध्यक्ष शम्भु अधिकारीले अध्यक्ष पदबाट राजीनामा दिनुभएसँगै समितिको संरक्षकसमेत रहनुभएका फुयाँलले अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । अधिकारी स्थायी शिक्षक हुनुभएसँगै राहतको अध्यक्षबाट राजीनामा दिनुभएको जनाइएको छ । नवनिर्वाचित अध्यक्ष फुयाँलको अध्यक्षतामा शुक्रबार बैठक बसेर विभिन्न निर्णय गरेको छ । बैठकले राहत शिक्षक केन्द्रीय समितिको आगामी असार २८ गतेबाट सुरु हुने महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ ।
अध्यक्ष फुयाँलका अनुसार मकवानपुरभित्रका १० वटै स्थानीय तहबाट एक–एक गरी १० जना, जिल्ला समितिबाट ९ जना, जिल्ला समितिले मनोनयन गर्ने ९ जना र बागमती प्रदेश समितिबाट ९ जना गरी ३७ जना प्रतिनिधि महाधिवेशनका लागि चयन भएका छन् । अध्यक्ष फुयाँलका अनुसार राहत शिक्षक समिति मकवानपुरमा अहिले ९ सय १ जना शिक्षकहरु आवद्ध छन् । राहत शिक्षकहरुको विभिन्न माग र समस्याहरु समाधान गर्न आफू लागि पर्ने उहाँले बताउनुभएको छ ।
उहाँले विशेषगरी अहिले राहत शिक्षकहरुलाई जागिरको स्थायित्व गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । अहिले राहत शिक्षकहरुले कुनै तालिम नपाइरहेको र हेपाइ सहनुपरेको, तलब र सेवा सुविधाका समस्याहरु रहेको उहाँको भनाइ छ ।