कार्यक्रममा सहभागी वडा अध्यक्ष, वडा सदस्यहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा भएकोे बालबालिकाको सवाल, जनप्रतिनिधिको जवाफ कार्यक्रममा विद्यार्थीले विद्यालयमा शैक्षिक सामग्री आवश्यक रहेको बताएका छन् । बिहीबार ज्ञानदा माध्यमिक विद्यालयमा भएको कार्यक्रममा विद्यार्थीहरुले जनप्रतिनिधिहरुलाई विभिन्न किसिमका सवालहरु राखेका थिए ।

कार्यक्रममा बाल समूहका विद्यार्थीहरुले विद्यालयमा नर्सको व्यवस्था हुनुपर्ने, प्राथमिक तहका कक्षा कोठा व्यवस्थित हुनुपर्ने, विद्यालय बसको व्यवस्था हुनुपर्ने, कक्षाकोठामा पंखाको व्यवस्था हुनुपर्ने, अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने, खेल सामग्री उपलब्ध गराउनुपर्ने जस्ता विषयमा वडा अध्यक्षसँग प्रश्न राखेका थिए भने आवश्यक सामान उपलब्ध गराउन अनुरोध गरेका थिए । विद्यालयमा खेलमैदान नभएका कारण प्रतिभा देखाउने स्थान नभएको विद्यार्थीहरुले बताएका छन् । खाली कक्षाको सदुपयोग गर्न कला शिक्षकको आवश्यकता रहेको बाल समूूहकी कोषाध्यक्ष सालिनी ठाकुरले बताउनुभयो ।

विद्यार्थीले जनप्रतिनिधिलाई शैक्षिक सुधारका लागि थप प्रोजेक्टर, विज्ञान प्रयोगशालामा चाहिने सामान, बाँदरका कारण भइरहेको समस्याको बारेमा ध्यानाकर्षण गराएका छन् । बाल समूहका सदस्य तथा अन्य विद्यार्थीले विद्यालयको झ्याल र ढोकाको मर्मत गर्न आवश्यक रहेको बताएका छन् । विद्यार्थीहरुको प्रश्नको उत्तर दिनुहुँदै वडा अध्यक्ष फूर्वा दोर्जे लामाले विद्यालयलाई सुधार गर्न वडाको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले बसको विषयमा विद्यालयले विभिन्न विचार पुर्याउनु पर्ने बताउनुभयो । उहाँका अनुसार हेटौंडा–१० मा खेल मैदान नभएका कारण यसलाई व्यवस्थापन गर्न वडा कार्यालय विभिन्न तरिकाले अघि बढिरहेको छ । यस्तै, झ्याल र ढोकाको मर्मत वा भवन मर्मतको विषयमा विद्यालयको प्रशासन, विद्यालय व्यवस्थापन समिति क्रियाशील हुनुपर्ने बताउँदै लामाले नर्सको व्यवस्था छिट्टै गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

‘वडाले शिक्षाका लागि बजेटबाट ३० प्रतिशत रकम छुट्याएको छ’, वडा अध्यक्ष लामाले भन्नुभयो, ‘शैक्षिक क्षेत्रमा वडाले गर्नुपर्ने हरेक काम गर्नेछ ।’ वडा अध्यक्ष लामाले विद्यालयमा शिक्षक बढाउने अवस्था नरहेको बताउनुभयो । उहाँले विद्यार्थी बढाउन जरुरी रहेको भन्दै शिक्षक बढाउने अवस्था नरहेको बताउनुभएको हो । कार्यक्रममा वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व प्रधानाध्यापकलगायत विद्यार्थी र शिक्षकको उपस्थिति रहेको थियो । यस्तै, हेटौँडा–१० को वडा कार्यालयले आज शुक्रबार संस्कृत वेद विद्यालय, आइतबार सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी र सोमबार तुलसीमेहर मेमोरियल माविमा “बालबालिकाको सवाल, जनप्रतिनिधिको जवाफ” कार्यक्रम आयोजना गर्दैछ ।