बागमती प्रदेशका उद्योग वाणिज्य, भुमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ

हेटौँडाः बागमती प्रदेशका उद्योग वाणिज्य, भुमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले प्रदेश लगानी बोर्डको स्थापनाका लागि बजेट व्यवस्था गरेको बताउनुभयो । प्रदेशमा लगानी बढाउने र उद्योग क्षेत्रको विकासका लागि लगानी बोर्ड प्रभावकारी हुने उहाँले बताउनु ।

बिहिबार मन्त्रालयमाथि प्रदेश सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठ उद्योग क्षेत्रको विकास र प्रदेशको आर्थिक समृद्धि हुनेगरी मन्त्रालयले बजेट ल्याएको बताए । सरकारले प्रदेशको आर्थिक समृद्धि, सामाजिक परिवर्तन, उद्योग विकासको प्रवद्र्धन, उद्यमी जनशक्तिको निर्माण, स्वदेशमै रोजगारी सिर्जना र समग्र प्रदेशको विकास हुने बजेट आएको दावी बताउनुभयो ।

जनवादउन्मुख प्रगतिशिल सिद्धान्त र प्राथमिकताका साथ नीति कार्यक्रम प्रस्तुत गरेको उहाँले बताउनुभयो । प्रदेशभित्रका १ सय १९ वटै स्थानीय तहमा समावेशी र सन्तुलित आधारमा लक्ष्य केन्द्रीत बजेट विनियोजन भएको उहाँको भनाई छ । उहाँका अनुसार युवा, महिला, दलित, अल्पसङ्ख्यक र फरक क्षमता भएका नागरिकहरुलार्ई केन्द्रीत गरेर बजेट ल्याएको छ ।

‘सार्वजनिक नीति तथा सहकारीको साँझेदारीमा रसुवा, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा हिमालको पानी प्रशोधन, उत्पादन र विक्रीका लागि व्यवस्थित योजना रहको छ । प्रदेश सरकारले पुर्व सरकारको तर्फबाट सम्भावना अध्ययन गरी डिपीआर भएका योजनालाई औद्योगिकग्रामको रुपमा स्थापनाका लागि क्रमागत रुपमा बजेट व्यवस्थापन गरिएको छ ।’ उनले भने, ‘भक्तपुरको चाँगुनारायण, धादिङको गल्छी, काठमाडौंको टोहरा बुढानिलकण्ठमा नयाँ औद्योगिकग्रामका लागि सम्भाव्यता अध्ययन गर्ने डिपीआर निर्माणको तयारी रहेको छ ।’

प्रदेशभित्रका स्थानीय तहहरुमा रहेका साँस्कृतिक सम्पदाहरुको विकास र प्रवद्र्धन गर्न तथा पयर्टकहरुलाई लक्षित गरेर कोसेलीघर निर्माण गर्ने योजना रहेको उहाँको भनाई छ । प्रदेशको उद्योग तथा वाणिज्य क्षेत्रको विकास गरी औद्योगिक उत्पादन वृद्धि, आन्तरिक तथा बाह्य व्यापार प्रवद्र्धन गर्न औद्योगिक नीति तथा वाणिज्य नीति तर्जुमा गरी मन्त्रालयको कामलाई व्यवस्थित गर्ने उहाँले बताउनुभयो ।