हेटौँडाः हेटौंडा–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेज र वीरगञ्जको नेशनल इन्फोटेक कलेजबीच भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेशनल इन्फोटेक कलेज विजयी भएको छ । शुक्रबार हेटौँडा–४ स्थित हुप्रचौरमा भएको खेलमा इफोटेक कलेजले म्यानेजमेन्ट कलेजलाई २० रनले हराएको हो ।
टस जितेर म्यानेजमेन्टले इन्फोटेकलाई व्याटिङको निम्तो दिएको थियो । नेशनल इन्फोटेकले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । नेशनल इन्फोटेकबाट सेरजवल अन्सारीले सर्वाधिक ६२ रन बनाएको थियो । राहुलले ४७ रन र एमडी अन्सारीले ३२ रन जोडेका थिए । बलिङतर्फ म्यानेजमेन्टका राजा अहमदले सर्र्वाधिक २ विकेट लिएका छन् । प्राञ्जल उपाध्याय, विशाल फुँयाल र गौरव खड्काले समान एक–एक विकेट लिए ।
१ सय ८४ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको म्यानेजमेन्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन मात्र जोड्न सफल भयो । म्यानेजमेन्टबाट विशाल फुँयालले सर्र्वाधिक ६० रन बनाए । विशेष थापाले ४४ रन जोडे । यता नेशनल इन्फोटेकबाट सलमान अन्सरी, सेरजवल अनसारी र सिराज मोहमदले समान २–२ विकेट लिए । म्यान अफ द म्याच घोषित हुँदै नेशनल इन्फोटेकका सेरजवलले ट्रफी प्राप्त गरेका छन् । मैत्रीपूर्ण खेलमा मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग रहेको थियो ।