हेटौँडाः हेटौँडा–१, चाइनाक्वाटरस्थित अमर माध्यामिक विद्यालय बालमैत्री स्थानीय शासनयुक्त विद्यालय घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमका बीच हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले विद्यालयलाई बालमैत्री घोषणा गर्नुभएको हो ।
यसअघि हेटौँडाका तीन वटा विद्यालय बालमैत्री घोषणा भइसकेका छन् । हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुल, हेटौँडा–१६ स्थित जनप्रिय मावि र हेटौँडा–८ स्थित चन्द्रोदय मावि बालमैत्री विद्यालय घोषणा भएका हुन् । विद्यालयले कार्यक्रमको अवसरमा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान गरेको छ । विद्यालयलाई बालमैत्री घोषणाका लागि समाचार सम्प्रेण गरी योगदान पुर्याएको भन्दै सम्पादक श्रेष्ठलाई सम्मान गरेको जनाएको छ ।
विद्यालयले वडाका १३ वटा टोल विकास संस्थासहित वडा कार्यालय, बालमैत्री वडा सम्पर्क व्यक्ति, सहजकर्ता, आमा समूह, बाजा समूह, बाल समूहलाई कदरपत्र प्रदान गरेको छ । विद्यालयका अमर बाल समुहका अध्यक्ष विकल्प अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, १ नम्बर वडाध्यक्ष सविन न्यौपाने, १० नम्बर वडाध्यक्ष फुर्वा दोर्जे लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतम र प्रधानाध्यापक मालती उप्रेती लगायतको उपस्थिति रहेको थियो । घोषणा सभाअघि विद्यार्थी, शिक्षक, अभिभावक, अतिथिको सहभागितामा पञ्चेबाजासहित प्रभातफेरी समेत आयोजना गरिएको थियो ।
बालमैत्री विद्यालय घोषणा सभामा विद्यार्थीले नृत्यकला प्रस्तुत गरेका थिए । विद्यार्थीले विभिन्न शैक्षिक क्रियाकलाप, विज्ञान विषयको प्रदर्शनी समेत गरेका थिए । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ६ सय ४९ विद्यार्थी अध्ययनरत छन् ।