हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कृषि क्षेत्रमा प्राथमिकता राखेर नीति, योजना, कार्यक्रम तथा बजेट ल्याउने भएको छ । आगामी असार १० गते प्रस्तुत हुने बजेटमा गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिने भएको हो ।
पालिकाका अध्यक्ष धर्मराज लामिछानेका अनुसार कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बनाउने कार्य भइरहेको छ । बजेटमा शिक्षा, स्वास्थ्य, पयर्टन र पूर्वाधार विकास केन्द्रित रहने उहाँले बताउनुभयो । उहाँले हालका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तता दिँदै आगामी वर्ष पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षमा गाउँपालिकाको कृषि क्षेत्रमा धेरै उपलब्धी हासिल हुने दावी गर्नुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको विकास र कृषकहरुलाई लक्षित गरी दुईवटा उद्योग सञ्चालन गर्ने वातावरण बनाएको उहाँले बताउनुभयो । गाउँपालिकाकै पहलमा नदी उकास जमिनको संरक्षण र सदुपयोग गरी कृषि उद्योग ग्राम स्थापना गरेको र उक्त स्थानमा पशु दाना उद्योग र साइलेज उद्योग निर्माण गरेको उहाँले बताउनुभयो । उहाँले उक्त उद्योग सञ्चालनमा ल्याएको पनि बताउनुभयो ।
उहाँका अनुसार वडा नम्बर–७ मा स्थापना गरिएको उद्योगबाट उत्पादित दाना र पशु आहारा सहुलियत दरमा कृषकहरुलाई उपलब्ध गराउने तयारी भइरहेको छ । ५ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न उक्त उद्योग हालै सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । गाईवस्तुलाई वर्षैभरी दिनुपर्ने हरियो घाँस र आहाराको आवश्यकता उक्त उद्योगबाट पूरा हुने उहाँको भनाइ छ । उद्योगमा दर्जनौंले रोजगारी पाएको र किसानहरु पनि पशुपालनमा लाग्न हौसला पुगेको उहाँको भनाइ छ । दाना र साइलेज उत्पादनका लागि पालिकाले कच्चापदार्थ किन्ने तयारी गरिहेको पनि उहाँले बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षमा प्राङ्गारिक मल बनाउने उद्योग सञ्चालन गर्ने बताउनुभयो । रासायनिक पर्दाथरहित कृषि खेतीका लागि अत्यधिक माग हुने प्राङ्गारिक मल बनाउन पालिकाले उद्योग चलाउन लागेको उहाँले बताउनुभयो । प्राकृतिक स्रोतहरुलाई प्रयोग गर्दै मल बनाउने उहाँले बताउनुभयो । यसले गर्दा किसानहरु विषादीरहित कृषि उत्पादनमा प्रेरित हुन मद्दत पुग्ने उहाँको भनाइ छ । गाउँपालिकाको आयस्रोत वृद्धिमा पनि काम गर्ने तयारी रहेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यसवर्ष बढी राजस्व संकलन भएको उहाँले बताउनुभयो ।
यस्तै, पालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आर्थिक वर्षमा आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरण र रोजगारी सिर्जना गर्ने खालका नीति तथा कार्यक्रमहरुलाई समावेश गर्ने बताउनुभयो । यसका लागि चालु आर्थिक वर्षमा भएका विकास निर्माण र अन्य कार्यक्रमको समीक्षा गर्ने क्रममा रहेको उहाँको भनाइ छ । ‘हिजो गरेका विकास निर्माणका कामले कति उपलब्धी हासिल गरे, कुनलाई निरन्तरता दिनुपर्ने र कुनलाई क्रमभङ्ग गर्नुपर्ने ? के गर्दा उचित हुने भनेर मनन गरिरहेका छौँ । यो वर्ष जनताको आर्थिकस्तरमा रुपान्तरण हुने खालको बजेट आउँछ’, उहाँले भन्नुभयो ।
गाउँपालिका उपाध्यक्ष खत्रीले जनताको चेतना अभिवृद्धि र समाजमा भएका विकृति, विसंगतिहरुलाई हटाउने, विपन्न नागरिकलाई सम्पन्नतातिर उन्मुख गराउने खालको नीति, योजना आउने बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि औद्योगिक ग्राम निर्माण गरी कृषिमा उल्लेख्य काम गरेको बताउनुहुँदै आगामी आर्थिक वर्षमा पनि कृषि उत्पादन र पशुपालनमा नै प्राथमिकता दिएर बजेट आउने उहाँले दावी गर्नुभयो ।
अहिले पालिकाअन्तर्गतका दूध डेरीहरुलाई सोझै कम्पनीसँग सम्पर्क गरेर एक–एक महिनामा भुक्तानी आउने गरी गाउँपालिकाले स्वामित्व लिएको उहाँले बताउनुभयो । यसले गर्दा किसानहरुले समयमै दूधको भुक्तानी पाएको र किसानहरु खुशी भएको उहाँको भनाइ छ । पालिकाले अहिले समपूरक बजेटका कामहरु गरिरहेको बताउनुहुँदै उहाँले यसवर्ष शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारतर्फ पनि धेरै काम गरेको जानकारी दिनुभयो ।
गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माणलाई तीव्रता दिएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट आउने उहाँले बताउनुभयो । संघीय र प्रदेशबाट प्राप्त हुने अनुदान कटौती हुने कुराले लक्ष्य निर्धारण गर्न नसकिरहेको पनि उहाँको भनाइ छ ।